अघिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको ब्यवस्थापिका संसदमा मन्तब्य दिने क्रममा ‘मधेस’ नभनी ‘तराई’ शब्द प्रयोग गरे । लगत्तै, भोलीपल्ट भएको भेटमा कांगे्रस नेता अमरेश सिंहले मुखै फोरेर मोदीसँग आपत्ति जनाए, ‘तपाईले संसदमा ‘मधेस’ नभनी ‘तराई’ शब्द किन प्रयोग गर्नु भयो ? त्यसले यहाँको मधेस आन्दोलन, मधेसी जनता र मधेसवादको नै अपमान गरिदिनु भयो ।’ जवाफमा ‘सम्पुर्ण राष्ट्रको आर्थिक विकासको बारेमा चिन्ता लिनुहोस, पहाडीया समुदायलाई गाली गरेर देशको उन्नती हुदैन्’ भन्दै मोदीले ‘हिमाल, पहाड र तराई मिलाएर संघीयतामा जानुहोस्’ भन्ने उल्टै सल्लाह दिए । सो जवाफ पछि ‘मधेसवादी नेता’ के टुंगोमा पुगेका छन भने अब भारत (मोदी)ले हाम्रो लागि मात्रै केही गर्दैन, न त हाम्रो मुद्धालाई साथ दिने वाला नै छन । मतलब, भारतको पछिल्लो सरकारवाट मधेसवादी नेता एक प्रकारले भ्रममुक्त भएको अवस्थामा छन् ।
त्यसो भए मधेस आन्दोलन, मधेस मुद्धा र स्वायत्त मधेस प्रदेशका बारेमा जुन तरिकाले अहिले तराई मधेस केन्द्रित राजनीतिक दलले बिषय उठाई रहेका छन । त्यो आगामी नयाँ संविधानले संस्थागत गर्ला त ? सबैभन्दा चिन्ताको बिषय यही निर हो । मधेसी जनता उत्पीडिन र बिभेदमा परेको बिषयलाई आत्मसाथ र स्विकार गर्दै केही बिषयहरु यहाँ उल्लेख गर्न गइरहेको छु, जुन बिषयमा मधेसवादी दल र नेता प्रस्ट हुनु अनिवार्य छ ।
शरदसिंह भण्डारी, महन्थ ठाकुर र राजेन्द्र महत्तो जस्ता मधेसवादी नेताले
‘मधेसीलाई अधिकार नदिए देश टुक्रन्छ’ भन्ने चर्को अभिब्यक्ति दिए । दुःखको
कुरा, तीनैजना ‘क्रान्तिकारी नेता’लाई जनताले चुनावमा पत्याई दिएनन ।
मधेसी जनताले सन्देश दिए– ‘देश टुक्राउने होइन, हिमाल–पहाड–तराई जोडने नेता
तराई–मधेसलाई चाहिएको हो ।’
हुन त पंक्तिकार मधेसवादी भन्दा पनि तराई–मधेस केन्द्रित दल र तीनका नेता भनेर लेखिरहन्छ तर यहाँ बोलीचालीको भाषामा प्रयोग हुने ‘मधेसवादी’ नै भनेर उल्लेख गरेको छु । यहाँ मैले केही मधेसी नेतालाई केही प्रश्न उठाएको छु र मलाई लाग्छ, त्यसको उत्तर अनिवार्य छ किनकी नयाँ संविधान जो हामी बनाइरहेका छौ ।
मधेसवादको परिभाषा के हो ?
उनीहरु आफुलाई मधेसवादी भन्न त रुचाउँछन तर मधेसवाद र मधेसवादीका परिभाषा के हो ? त्यसको उत्तर आजसम्म छैन । सिद्धान्त र बिचारले मधेसवाद हो भने त्यसको बस्तुनिष्ठ ब्याख्या र बिश्लेषण खोई ? भुगोलले मधेसवाद हो भने त्यहाँ चुरेँ भावर भन्ने भुगोल पनि त छ फेरी । रंग (कालो)ले यदी हो भने गोरा (पहाडीया समुदाय)को बसोवास त्यहाँ छदै छैन ? जात वा समुदायले मधेसवाद हो भन्ने हो भने खस आर्य, आदिबासी÷जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक जस्ता बहुभाषी र बहुसाँस्कृतिक मान्यता बोक्ने बासिन्दा नै छैनन ? के आधारले ‘मधेसवाद’ र ‘मधेसवादी’ हो ? आन्दोलन भन्दा अघि ‘मधेस, मधेसवाद’ कहाँ थियो ? त्यसको साझा उत्तर र बैज्ञानिक धारणा आवाश्यक भइसकेको छ । एउटा समुदाय (मधेसी) को मुद्धालाई सिंगो मधेसबाद भनेर सैद्धान्तिकरण गर्न पाइन्छ कि पाइदैन ? त्यसैले बोली र अभिब्यक्तिले मात्रै ‘मधेसवाद र मधेसवादी’ भनेर हुदैन भन्ने बुझन सबैभन्दा बढी जरुरी छ ।
आधा जनसंख्या के मधेसी मात्रैको छ ?
यसमा दुईमत छैन कि तराई–मधेसको भुगोलमा देशका ५० प्रतिशत जनसंख्याको हिस्सा छ । तर, के यसो भन्दैमा ती मधेसवादी दलले भने झै सबै नै मधेसी हुन त ? यदी हुन भने खस आर्य (जो चुरे भावँर र महेन्द्र राजमार्गमा बढी बस्छन्)ले किन आफुलाई मधेसी भन्दैन, थारुले किन मधेसी समुदायमा राखेको आपत्ति जनाउँछ ? किन मुस्लिमले आफु अलग समुदायको हो भनेर आरक्षण माग्छ ? र, आदिबासी÷जनजाति, राजबंशी, दलित र अल्पसंख्यक समुदायले आफनो छुट्टै पहिचान छ भनेर दाबी गर्छ ? यस्ता ज्वलन्त यथार्थमा मधेसवादीहरुको किन ध्यान गएकै छैन, जबकी यो निकै महत्वपुर्ण प्रश्न सद्यै खडा छ ।
‘चैते मधेसी, बैशाखे नेपाली’
२०६३ माघ÷फागुनमा भएको मधेस आन्दोलन पछि चैतमा त्यहाँका धेरैलाई मधेसी घोषित भए, बैशाखमा सरकारले नागरिकता टोली खटायो र नागरिकता बितरण ग¥यो । सो क्रममा नेपाली नागरिकता पाउनेमा मुख्यतः भारतीय (बिहारी) हरु पनि थिए, जो ‘अपराध कर्म’ गरेर नेपालमा आफन्त कहाँ लुक्दै र बस्दै आएका थिए । तीनीहरुले नेपाली नागरिकता मात्रै फुत्काउन सफल भएनन, नागरिकता पाए पछि यतिखेर मधेसी दल र नेताको आडमा ‘रैथाने मधेसी’लाई पेल्न थालेको अवस्था छ । त्यसैले त ‘नयाँ मधेसी’लाई सम्वोधन गर्दै भन्न थालेका छन– ‘चैते मधिसे, बैशाखे नेपाली ।’ रैथाने मधेसीको यो उक्तिको संवेदनशिलता प्रति मधेसवादी दल किन उदासिन छन ? बुझि साध्य छैन ।
पहिचानको उल्टो बुझाई
यो सत्य हो कि मधेसी जनताको पहिलो लडाई आफनो पहिचान स्थापित गराउनु हो भने दोस्रो चाँही अधिकार र समानताको प्रश्नको लडाई हो । तर, जुन तरिकाले मधेसवादी दलले पहिचानको मुद्धा उठाएका छन, त्यहाँको ऐतिहासिक, साँस्कृतिक र भाषागत बिषयलाई पुरै ओझेल पारेर उठाइएका छन, जसमा स्थानिय जनताको असहमति बेला बेला प्रकट हुन्छ, भई नै रहेको छ ।
जस्तो कि, भोजपुरी, मैथली, अबद्यी र बज्जिका लगायतका अनेकौ भाषा तराई–मधेसमा बोलिन्छन तर ती मध्य एक भाषालाई सम्पर्क भाषाको रुपमा बिकास गराउनुनको सट्टा हिन्दी भाषा उनीहरु जोड देखिन्छ । मातृभाषा र राष्ट्रिय भाषाको पक्षमा तराई–मधेस भएका आन्दोलन, मिथिलाजस्ता प्रदेश बनाउन गरिएका आन्दोलन त्यसका उदाहरणहरु हुन । पहिचान अपनत्वसँग जोडिन्छ, न कि लादिएको नयाँ पहिचानसँग ? यो बिषयमा त्यति ध्यान पुगेको देखिन्न ।
राष्ट्रियतामाथि शंका
मधेसवादीहरुकै भाषामा– ‘खस आर्य समुदाय, जो शाषक बर्गको रुपमा परिभाषित गरिन्छ, उनीहरु हाम्रो राष्ट्रियतामा सधै शंका गर्छन जबकी हामी पनि नेपाली नै हो ।’ यसमा दुई मत छैन कि मधेसी समुदाय माथी सद्यै राष्ट्रियताको प्रश्न उब्जि रहेको हुन्छ । तर, अरु समुदायलाई नउठने तर हामीलाई नै किन यो सद्यै समस्या हुन्छ ? मधेसवादी दलका नेताले आत्मसमिक्षा गर्न जरुरी छ ।
किनभने, भारतले सिमानामा बाँध बाँध्छ, डुबानमा मधेसी जनता पर्छन, भारतीय सिमा सुरक्षाकर्मीले सिमानामा दुःख दिन्छन, दुखः पाउने मधेसी नै पर्छन, नेपाल–भारत बिच ७५ भन्दा बढी सिमाना मिचिएको छ, यसरी मिचिदा खस आर्य समुदायको घर जग्गा पर्दैन, पर्ने मधेसी जनताको नै हो । तर, त्यसको औपचारिक रुपमा न मधेसवादी दलले न बिरोध गर्छन, न त नेता नै त्यो बेला मधेसी जनताको पक्षमा खडा भएर उभिन्छ । बरु, खस आर्य समुदायकाले सुस्ता, ठोरी पुगेर भारतीय सिमा मिचाईको बिरोध गर्छन, जनताको पक्षमा उभिएका धेरै घटना छन् । अनि किन उठदैन त राष्ट्रियताको प्रश्न ? ‘रोटी र बेटी’ तथा साँस्कृतिक सम्वन्ध छ भन्दैमा अर्को मुलुकले सिमाना मिचिरहदाँ र दुःख दिई रहदा मौनता साध्न मिल्छ ? यस्ता कयौं प्रश्नले नै उनीहरुको राष्ट्रियता माथी प्रश्न उठिरहेको हो भन्ने बुझन जरुरी छ ।
अतिवादी सोच र आत्मनिर्णय अधिकारबारे
मुख्यतः उत्पीडिन तथा राज्यको बिभेदमा परेको भन्दै मधेसवादी दलले आत्मनिर्णयको अधिकार माग गरेका छन र साथै, राजनीतिक अग्राधिकारको पनि । शरदसिंह भण्डारी, महन्थ ठाकुर र राजेन्द्र महत्तो जस्ता मधेसवादी नेताले ‘मधेसीलाई अधिकार नदिए देश टुक्रन्छ’ भन्ने चर्को अभिब्यक्ति दिए । अन्तरिम संविधानलाई स्विकार गरेर सभासद र मन्त्री भएकाले ‘देश टुक्रन्छ’ भन्ने अभिब्यक्ति दिन पाइन्छ ? सार्वभौम मुलुकको एउटा जिम्मेवार नेताले स्वतन्त्रता र लोकतन्त्रको नाम यसरी खुल्लेआम ‘देशद्रोही’ अभिब्यक्ति दिन पाइन्छ ? तर दिए र आफुलाई ‘सच्चा र क्रान्तिकारी मधेसवादी नेता’ भएका उदाहरण दिन खोजे । दुःखको कुरा, तीनैजना ‘क्रान्तिकारी नेता’लाई जनताले चुनावमा पत्याई दिएनन र पराजित भए । जनताले के प्रमाणित गरि दिए भने– ‘टुक्राउने होइन, हिमाल–पहाड–तराई जोडने नेता मधेसलाई चाहिएको हो ।’ टुक्राउन धम्की दिने नेतालाई कसरी आत्मनिर्णयको अधिकार दिन सकिन्छ ? आशंका यही भएर भएको हो भन्ने मनन गर्न जरुरी छ ।
राजनीतिक (जातीय) अग्राधिकार र नागरिकता
मधेसी समुदायलाई नागरिकता दिनु पर्छ भनेर माग गर्ने मधेसवादी दलले मधेसीको नाममा नेपाली नागरिकता लिएको घटना प्रकाशमा आए पछि त्यसरी नागरिकता लिनेलाई किन कारबाहीको माग गर्दैनन ? आवाश्यक छ कि छैन ? प्रश्न सद्यै खडा छ ।
अर्को, तराई–मधेसको कुन चाँही क्षेत्र र भुगोल छ, जहाँ एकल जातको मात्रै बाहुल्यता छ र राजनीतिक (जातीय) अग्राधिकार दिन सकिने अवस्था छ ? जबकी, नेपालका ९५ प्रतिशत भन्दा बढी समाज मिश्रित छ भने त्यहाँ जातीय अग्राधिकारको कुरा कसरी सम्भव हुन्छ ? बरु उल्टै, त्यसले समाधान भन्दा बिग्रह बढी ल्याउने देखिन्छ भन्ने कुरा पनि बुझन अत्यन्तै आवाश्यक छ ।
स्वायत्त मधेस प्रदेश सम्भव छ ?
चुरे क्षेत्र मुनि रहेका २२ जिल्लालाई सिंगो स्वायत्त मधेस प्रदेश बनाउनु पर्ने मधेसवादीका माग आफैमा कत्ति जायज, बैज्ञानिक र सर्वसम्मत स्विकार्य छ ? त्यो सबैभन्दा पहिला मधेसवादी दलका नेताले नै मनन गर्नु अनिवार्य छ । के त्यसलाई थारु समुदायले स्विकार गर्लान, के त्यहाँ बसोबास गर्ने खस आर्य, आदिबासी÷जनजाति, राजबंशी, दलित, अल्पसंख्यक समुदायले सहजै स्विकार गर्लान ? मागमा अडको थाप्नु अघि यो कुरा बुझन अत्यन्तै जरुरी छ । एउटा बिभेद र उत्पीडिनको विकल्प अर्को बिभेद र उत्पीडिन हुन सक्दैन भन्ने कुरा बुझन पनि उत्ति कै जरुरी देखिन्छ ।
मधेस मुद्धाको नेतृत्वकर्ता को ?
गजेन्द्रनारायण सिंह पछि मधेसमा जागरण ल्याउन जति सक्रिय भुमिका उपेन्द्र यादवले गरे र सोही जगमा मधेस आन्दोलन भयो, त्यसको नेतृत्व पनि उनै यादवले गरे । तर, अहिले परीस्थिति फेरिएको छ, अहिले मधेसका मुद्धाको नेतृत्व कस्ले गर्ने हो ? त्यो प्रस्ट छैन । एक किसिमका अन्यौल र भागदौडका बिच मधेसका मुद्धाहरु छरपस्ट छन् । मधेसका असली नेता उपेन्द्र यादव, महन्थ ठाकुर, बिजयकुमार गच्छदार वा राजेन्द्र महत्तो को हुन ? तराई–मधेसको जनताले खोजेको सबैभन्दा यो ठुलो प्रश्न हो । यसको जवाफ दिनु अनिवार्य भइसकेको छ ।
पराधिन राजनीति शैली
मधेसवादी दल खासमा आपैm नेतृत्व गरेर आफनो मुद्धा स्थापित गर्ने भन्दा पनि अरुको भरमा बढी हिडि रहेको घटनाक्रमले नै देखाउँदै लगेको छ । यो नै सबैभन्दा मधेस मुद्धा स्थापित गराउन बाधक तत्वको रुपमा रहेको छ । जसरी मोदी प्रति जुन उनीहरुको ‘अन्तिम भरोसा’ थियो, त्यो अहिले आउँदा करिब करिब भङ्ग नै भएको अवस्था छ । त्यो भन्दा अघि पनि मधेसवादी नेताको भारतसँगको संवन्ध राजदुतावासको कर्मचारी भन्दा माथी जान सकेन, जबकी संवन्ध राजनीतिक रुपमा हुनु जरुरी थियो, जसले मुद्धालाई नीतिगत रुपमा समर्थन पाउन सजिलो हुने थियो ।
मधेसवादी दल संघीयताको मुद्धा स्थापित गराउने नाममा यस्तो शक्तिको पछि लागेर हिडिरहेका छन, जुन शक्ति (माओवादी) एक समय मधेस आन्दोलनको बिपक्षमा उभिएको थियो । मधेस आन्दोलनको उत्पत्ति नै माओवादी (नेपालगञ्ज आक्रमण, सिरहा गोलीकाण्ड, गौर हत्याकाण्ड) बिरोधी आन्दोलनवाट नै सुरु भएको इतिहास साक्षी नै छ । तर, घटनाक्रमले आज त्यही शक्ति माओवादी सामु घुडाँ टेकेर मधेसवादी दलहरु आफनो मुद्धा स्थापित गराउने उल्टो बाटो हिडेर दुनियाँलाई तमसा देखाई रहेका छन ।
जसको मुद्धा, उही नेतृत्वकर्ता
पक्कै पनि यो कुरा सत्य हो मधेसी समुदाय जनता विभेद र उत्पीडिनमा छन, यसमा दुईमत नै छैन । तर फेरी यो कुरा होइन कि उनीहरुको हक अरुले मागि दिने होइन, न त अरुको बैशाखीको भरमा न्याय पाइन्छ भनेर आश नै गर्ने बेला हो यो । जबसम्म मधेसवादी दल र तीनका नेताले आफनो मुद्धाको लडाई आफैले नेतृत्व गरेर अघि बढन सक्दैनन, तबसम्म तबसम्म ती पराधिन नै भई रहन्छन, बिभेद, उत्पीडन र अन्यायमा परि रहन्छन् ।
र, मधेसवादी दल र समुदाय माथी पटक पटक उठने गरेको प्रश्न र आंशकालाई उचित सम्वोधन नगरी एकोहोरो सुगा रटाइमा राखिएका माग पुरा हुन्छन भन्ने सोच्नु पनि उल्टो बुझाई हुन्छ । चेतना भया ।
No comments:
Post a Comment