Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 17, 2013

मधेसी नेतालाई जनताको प्रश्न - संविधान नलिई किन आउनुभयो ?

प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ३ - नयाँ संविधानसभा निर्वाचनका लागि गाउँ पुगेका मधेसवादी दलका नेतालाई जनताले रित्तै आएकोमा गुनासो गरेका छन्। सत्ता राजनीतिमा मात्र केन्द्रित रहेको आरोप खेप्दै आएका मधेसवादी दलका नेता फागुन अन्तिम साता सरकारबाट बाहिरिएलगत्तै चुनावी वातावरण बनाउन गाउँ पुग्दा यस्ता कयौं प्रश्नको सामना गर्नुपर्यो।
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय जनताले संविधान नलिइकन आएको भन्दै जनताले गुनासो गरेको बताए। 'संविधान नलिइकन किन आउनुभयो भनेर जनताले हामीलाई सोधेका छन्,' त्रिपाठीले नागरिकसँग भने, 'तर संघीयतामा राखेको अडानमा भने जनताको समर्थन देखिएको छ, हाम्रो अडानलाई सकारात्मक रुपमा जनताले लिएको पनि देखिन्छ।' संघीयताको विषय पेचिलो बनेकाले समयमै संविधान दिन नसकेको स्पष्टीकरण दिने गरिएको उनले जानकारी दिए।

चुनावी माहोल सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध पाँचसहित अन्य मधेसवादी दलका शिर्ष नेता राजधानीमा देखिन छाडेको हप्तौं भएको छ। फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्थ ठाकुर, नेपाल सद्भावना पार्टीका राजेन्द्र महत्तो, फोरम गणतान्त्रिकका राजकिशोर यादव, तमलोपा नेपालका महेन्द्र यादव र संघीय सद्भावना पार्टीका अनिलकुमार झालगायत शीर्ष नेतृत्व तराई-मधेसका जिल्लामा पुनः संविधानसभाको चुनावी एजेन्डा लिएर गइरहेका छन्।
संघीय सद्भावनाका अध्यक्ष झा पश्चिमका केही जिल्लासहित जिल्ला घुमेर गृहजिल्ला रौतहट पुगेर फर्केको बताउँछन्। 'स्थानीय जनता मधेसवादी दल फुटेर भन्दा जुटेर चुनावमा गएको देख्न चाहन्छन्,' झाले नागरिकसँग भने, 'जनताको भावनालाई मधेसवादी दलले तोडेको गुनासो गरेका छन्।' उनका अनुसार मधेसवादी दललाई जुटेर आएको देख्न चाहने जनतालाई सम्बोधन गर्नुपर्ने चुनौती मधेसवादी दलसामु देखा परेको छ।
संविधानसभामा निर्वाचित भएपछि काठमाडौं केन्द्रित रहँदै आएका शीर्ष नेतृत्व संविधानसभा निर्वाचन हुने घोषणा भएपछि तराई मधेस आवातजावात बाक्लो हुँदै गएको राजनीतिक विश्लेषक चन्द्रकिशोर झा बताउँछन्। 'मधेसी नेताको तराई मधेसमा बाक्लो आवातजावात सुरु भएको छ,' झाले नागरिकसँग भने, 'साँच्चै, अहिले राजनीति गाउँगाउँमा पसेको अवस्था छ।' सबैजसो मधेसवादी दललाई आफ्नो प्रभाव देखाउनमा व्यस्त रहेको झाले बताए।
तमलोपा, नेपालका अध्यक्ष यादवले सरकारबाट बाहिरिएको पछिल्ला एक महिनाबीच तराई-मधेसका धेरैजसो जिल्ला पुगे। 'जिल्ला-जिल्ला पुगेर स्थानीय जनताको भावाना र माग सुन्ने तथा आफ्नो पार्टीको उद्देश्यबारे पनि बताउँदै आएको छु,' यादवले नागरिकसँग भने। उनका अनुसार स्थानीयले दिएको सुझाव अनुसार आफ्नो पार्टीले चुनावी एजेन्डा बनाउँदैछ।
फोरम, गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि तराई मधेसमा नै व्यस्त छन्। 'म अहिले मधेसका जिल्ला-जिल्लामा पुगिरहेको छु,' यादवले नागरिकसँग भने, 'आफ्नो कुरामात्र होइन, स्थानस्य जनताको भावना र मागलाई पनि सुनिरहेको छु।'
सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेसका आफू 'असली' भन्दै अरु पार्टीलाई 'नक्कली'को संज्ञा दिन थालेका छन्। विभिन्न पार्टीका केन्द्रीय नेतादेखि पूर्व सभासदसमेत आफ्नो पार्टीमा ल्याउन सफल महतोका पछिल्ला भनाइबाट मोर्चाआबद्ध अन्य दलका शीर्ष नेता भने चिडिँदै गएको मधेसी नेताहरुको भनाइ छ।

No comments:

Post a Comment