Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 12, 2014

बाबुरामलाई छाडनेका संख्या बढदैछ, प्रचण्डतिर पाइला बढदैछ

एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराई विराटनगर सम्मेलनमार्फत केन्द्रीय समितिमा बस्न अस्वीकार गरेलगत्तै पार्टीभित्र एक्लिँदै गएका छन् । पार्टीभित्रको वैचारिक संघर्षमा यसअघि भट्टराईलाई साथ दिँदै आएका आधाभन्दा बढी नेता यसपालि उनलाई छाडेर अध्यक्ष पुष्पकमल दाहाल खेमामा लागेका छन् ।
भट्टराईसहित उनी पक्षधर १५ जनाले केन्द्रीय सदस्य अस्वीकार गरे पनि आइतबार पार्टी मुख्यालयबाट सार्वजनिक ८४ सदस्यीय केन्द्रीय समितिको नामावलीमा विगतमा भट्टराईनिकट रहँदै आएका दर्जन सदस्यको नाम समावेश छ । पालुङटारदेखि क्रमशः संख्यात्मक रूपमा कमजोर हुँदै आएका भट्टराईलाई विराटनगर सम्मेलनबाट करिब दर्जन केन्द्रीय नेताले साथ छाडेको पार्टी मुख्यालयबाट जारी केन्द्रीय समितिको नामावलीले देखाउँछ ।

बिरानगर सम्मेलनवाट औपचारिक रुपमा नै भट्टराईलाई छाडनेहरु:
१. दीनानाथ शर्मा
२. राम कार्की
३. भीमप्रसाद गौतम
४. भरतप्रसाद साह
५. अजयशंकर दास नायक
६. अशोक जयसवाल
७. कल्पना धमला
८. घनश्याम यादव
९. दधिराम न्यौपाने

पालुङटार प्लेनममा भट्टराईको पक्षमा खुलेर लागेका पूर्व स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता दीनानाथ शर्मा, पूर्व पोलिटब्युरो सदस्य राम कार्की र भीमप्रसाद गौतमसहित केन्द्रीय सदस्यहरू भरतप्रसाद साह, अजयशंकर दास नायक, अशोक जयसवाल, कल्पना धमला, घनश्याम यादव, दधिराम न्यौपाने लगायतका भट्टराईनिकट केन्द्रीय नेता विराटनगर सम्मेलनबाट दाहाल खेमामा प्रवेश गरेका छन् ।
‘पार्टी चुनावमा नराम्रोसँग पराजय भएको स्थिति छ, पार्टीलाई बलियो बनाउनुको सट्टा केन्द्रीय समिति अस्वीकार गरेर झन् कमजोर बनाउने काम बाबुरामजीबाट भयो भन्ने मेरो निष्कर्ष हो,’ भट्टराईको साथ छाडेका भरतप्रसाद साहले आइतबार नागरिकसँग भने, ‘अध्यक्ष (दाहाल) लाई सहयोग गरेर पार्टी पुनर्निर्माणका लागि मैले योगदान दिन खोजेको मात्रै हुँ ।’ संविधानसभा निर्वाचनपछि तेस्रो स्थानमा झरेको पार्टी बलियो बनाउन सुदृढ एकताको आवश्यकता रहेको उनको निष्कर्ष छ ।
भट्टराईनिकटका अनुसार उनी सरसल्लाह गरेर अघि बढ्नेभन्दा आफ्नो एजेन्डामा सहमति जनाउन आग्रह गर्छन् । ‘अब के गर्नेभन्दा पनि अब यो गर्ने हो हामीले भनेर उहाँ भन्नुहुन्छ, त्यो राम्रो होइन,’ भट्टराईनिकट अर्का नेता भन्छन्, ‘कार्यकर्ता के चाहन्छन्, के खोजिरहेका छन्, त्यसप्रति उहाँको कमै चासो हुन्छ, जसका कारण विचार राम्रो भए पनि उहाँ संगठन बनाउन सक्नुहुन्न ।’ कार्यकर्ताको भावना बुझ्न नसक्नुले नै पार्टीभित्र भट्टराई सधैं कमजोर रहेको ती नेताको भनाइ छ ।
‘खासमा म बाबुरामजीकै निकट थिएँ, पालुङटारमा मैले उहाँलाई नै साथ दिएको हुँ, यो लुकेको कुरा होइन,’ अर्का नेता अशोक जयसवालले नागरिकसँग भने, ‘तर, विराटनगरमा बहुमत कार्यकर्ताको भावनाविपरीत जसरी उहाँ केन्द्रीय समिति अस्वीकार गरेर हिँड्नुभयो, त्यो मनपर्ने कुरा थिएन ।’ बहुमतको निर्णय अस्वीकार गरी हिँडेर भट्टराईले गल्ती गरेको जयसवालको निष्कर्ष छ ।
विराटनगर सम्मेलन सम्पन्न भएलगत्तै नागरिकसँग कुराकानी गर्दै राम कार्कीले भट्टराईको कार्यशैली बेठिक हुँदै गएकाले साथ छाडेको बताएका थिए । ‘प्रधानमन्त्री हुँदा उहाँले जुन तरिकाले सरकार चलाउनुभयो, त्यो जनपक्षीय सरकारको भूमिकाअनुरुप अलिकति पनि थिएन,’ कार्कीले भनेका थिए, ‘झन् पार्टी कमजोर बनाउने उद्देश्यसहित उहाँ जसरी हिँड्नुभयो, त्यो सोह्रै आना गलत थियो ।’
प्रवक्ता शर्मा पनि पालुङटार प्लेनममा भट्टराईको ‘शान्ति र संविधान’को कार्यदिशामा खुलेर लागेका थिए । अध्यक्ष दाहालले नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन जनाउँदा भट्टराईसँगै प्रवक्ता शर्माले पनि लिखित रूपमै केन्द्रीय कार्यालयमा असहमति प्रकट गरेका थिए । तर, धोबिघाट गठबन्धनदेखि भट्टराईबाट टाढिँदै गएका शर्मा पछिल्लो केन्द्रीय समितिबाट प्रचार विभाग प्रमुख हुँदै प्रवक्तामा नियुक्त भएका थिए । विराटनगरमा भने शर्मा भट्टराईको पछि लागेनन् । बरु उनले विराटनगर सम्मेलनमा प्रस्ताव गरेको केन्द्रीय समितिको पहिलो बैठकको अध्यक्षता गरेर दाहाललाई पुनः नेतृत्वमा अनुमोदन गराउने काम गरेका छन् । भट्टराईलाई साथ दिएकै आरोपमा शर्मा द्वन्द्वकालमा कारबाहीमा समेत परेका थिए ।
तत्कालीन एकता केन्द्रबाट आएका भीमप्रसाद गौतम भट्टराईनिकट नेताकै रूपमा चिनिन्थे । एकता केन्द्रबाट आएर भट्टराईलाई साथ दिने उपल्लास्तरका गौतम भट्टराईको कोटाबाटै भोजपुरा राज्य समिति इन्चार्ज र भूमिसुधार मन्त्रीसमेत भए । पार्टी विभाजनका लागि मोहन वैद्य पक्षले आयोजना गरेको बौद्धको भेलामा समेत गौतम पुगेका थिए । ‘प्रचण्ड, बाबुराम, वैद्य कतैबाट पनि क्रान्तिका कुरा नभएकाले हामी केही नेता नयाँ शिराबाट सोचिरहेका छौं,’ गौतमले भने । नयाँ पार्टी निर्माणका लागि आफूसहित अन्य नेताले प्रयास जारी राखेको उनले जानकारी दिए ।
निकट नेताहरूका अनुसार संविधानसभा निर्वाचनअघि ‘उपाध्यक्ष पद त्याग’ गर्दा भट्टराईले आफ्नो विचार समूहसँग एकपटक पनि सल्लाह गरेनन् । त्यस्तै विराटनगर सम्मेलनअघि पद ‘अस्वीकार’ गर्नुको कारण पनि खुलाएका छैनन् । ‘अघिल्लो दिन असहमतिका बाबजुद केन्द्रीय समितिमा बस्ने कुरा गर्नुभएको थियो, तर बिहान कोही पनि केन्द्रीय समितिमा नबस्ने भनेर निर्देशन दिनुभयो,’ हाल केन्द्रीय समिति अस्वीकार गरेका एक सदस्यले नागरिकसँग भने, ‘हिजो किन बस्ने भनियो र बिहान किन फेरि नबस्ने भनियो, हामीले केही भेउ नै पाएनौं ।’
विराटनगर सम्मेलन समारोहको अघिल्लो रातको प्रसंग जोड्दै भट्टराईनिकट भनिएका ती नेताले भने, ‘स–सम्मान अध्यक्षले बोलाउनुभयो भने धेरै नेता केन्द्रीय समितिमा फर्कनुहुन्छ ।’ भट्टराईको निर्देशनअनुसार बहिष्कार गरिएकोमा आधा दर्जनभन्दा बढी नेताले ‘पश्चाताप’ गरिरहेको पनि ती नेताले बताए ।
भट्टराई मानसरोवर यात्राबाट फर्केपछि एक चरण बैठक बस्ने योजनामा उनीनिकट अधिकांश नेता प्रतीक्षारत छन् । ‘उहाँको आगमी योजना के छ ? उहाँले नयाँ पार्टी कसरी बनाउनुहुन्छ, त्यसबारे जानकारी लिन्छौं,’ केन्द्रीय समितिमा फर्कन लागेका भट्टराईनिकट एक वरिष्ठ नेताले भने, ‘वैशाख ३०–३१ मा धेरै कुरा निर्णय भइसक्छ ।’ उनका अनुसार भट्टराईलाई साथ दिइरहने कि उनलाई छाडेर स–सम्मान केन्द्रीय समितिमा फर्कने भन्ने निर्णय भट्टराई तिब्बत यात्रामा रहेकाले मात्रै अड्किएको हो ।
भट्टराईलाई छाडेका नेता

No comments:

Post a Comment