Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 7, 2015

प्रचण्ड बाबुराममाथी आरोपः 'हामीलाई भारतमा गिरफ्तार गराएर चुनवाङवाट लोकतान्त्रिक गणतन्त्र पास गराइयो'

यो समाचार राजधानी दैनिकमा कार्यरत रहदाँ २०६६ जेठ ५ गते (ठ्याक्कै याद भएन, साल चाँही) लेखेको थिए । मेरो जीवनको सबैभन्दा महत्वपुर्ण ब्रेकिङ न्युजहरु मध्ये यो एउटा न्युज थियो, जसलाई मैले कहिल्यै बिर्सन सक्दिन् । प्रचण्ड र बैद्य बिच यति ठुलो दरार छ भन्ने कुरा यो समाचारले नै बाहिर ल्याउने काम गरेको थियो, सो अघि उनीहरु बिचको दरार भए पनि यति गम्भिर छ भन्ने चाँही कसैलाई नै थाहा थिएन् । यो न्युज आएको दिन पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बसेको थियो, यही न्युजका कारण सो बैठकमा हल्लाखल्ला भो र बैठक नबसी स्थगित हुन पुग्यो ।  त्यसपछि यो न्युजका बारेमा मोहन बैद्यले मलाई फोन गरेर मैले बोलेको नै छैन भनेर कुरा राखे, मैले भने ‘यदी होइन भने समाचारको खण्डन गर्नुहोस ।’ भने तर उनले ‘मेरो आशय प्रचण्ड र बाबुरामजीले नै पक्राउ गराए भन्ने चाँही थिएन ।’ उनको यही कुरा भोलीपल्ट राजधानीमा हालियो पनि । धेरैले यो समाचारमा विश्वास पनि गरेनन, किनभने, ‘बैद्यले यति ठुलो गम्भिर आरोप लगाउनै सक्दैनन् ।’ आफना सबैभन्दा विश्वासिला चेला प्रचण्ड (बाबुरामसहित)ले बैद्यलाई, जो प्रचण्डका राजनीतिक गुरु पनि हुन, भारतीय सुरक्षाकर्मीलगाएर पक्राउ गराउँछन् भन्ने कुरा धेरैलाई विश्वास थिएन र हुने कुरा पनि होइन्  ।
बैद्यले कृष्णभोग पार्टी प्यालेसमा बोलेका कुराको अडियो टेपमा आधारित भएर सो लेखेको थिए, तर बैद्यको आरोप सत्य थियो, थिएन त्यो अर्को बहसको बिषय थियो । र, प्रस्टीकरण दिन जरुरी ठानिन् । यो कुरा लामो समयसम्म बहस र शंकामा नै रहयो, माओवादीमा विभाजन आयो । तर, बैद्यको अभिब्यक्तिलाई आधार बनाएर लेखेको सो समचारलाई पुर्नपुष्टी गर्दै बाबुराम भट्टराईको गुरु एसडी मुनीले एउटा लेख प्रकाशित गरे । जुन लेखमा बैद्यले प्रचण्ड बाबुराममाथी आरोप लगाएको कुरालाई पुष्टी गर्दै भने, ‘बैद्य र गजुरेललाई प्रचण्ड र बाबुराम कै योजना अनुसार भारतमा पक्राउ गरिएको थियो, त्यसो नगरेको भए माओवादीले चुनवाङवाट लोकताान्त्रिक गणतन्त्र र शान्ति र संविधानको कार्यदिशा पास गराउन सक्दैनथ्यो, बैद्य र गजुरेलले त्यसमा अबरोध गर्दथे ।’ बाबुराम कै गुरुले यसो भनेर दुई बर्ष पछि लेखिदिए पछि मैले शान्ति  महशुश गरेको थिए ।

प्रकाश तिमल्सिना (राजधानी दैनिक)
काठमाडौं, ५ जेठ :
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा गरेका छन् । आफूनिकट नेताहरूको गोप्य भेलामा उपाध्यक्ष वैद्यले सो खुलासा गरेका हुन्। स्रोतका अनुसार गोप्य भेलामा युद्धकालमा भारतमा आफूसहित गजुरेल, मातृकाप्रसाद यादव र कुलप्रसाद केसीको पक्राउ प्रसंग जोड्दै वैद्यले अध्यक्ष दाहालले नै आफूहरूलाई पक्राउ गराएको दर्जनौं दलिल पेस गरेका थिए ।

माओवादी युद्धकालमा भारतमा पक्राउ परेको वैद्य र गजुरेल शान्ति प्रक्रियापछि रिहा भएका हुन् । सोही कारण उनीहरूले शान्ति प्रक्रियासम्बन्धी चर्चित चुनवाङ बैठकमा भाग लिन पाएका थिएनन्।

‘मलाई र गौरव कमरेडलाई भारतमा पक्राउ गर्राई चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र पास गराउने काम अध्यक्ष प्रचण्डबाट भयो,’ वैद्यको भनाइ उद्धृत गर्दैर् बैठकमा सहभागी केन्द्रीय समितिका एक सदस्यले राजधानीसँग भने, ‘हामीलाई पक्राउ गराएर लोकतान्त्रिक गणतन्त्र पास गराइयो, प्रचण्ड जे पनि गर्न सक्ने मान्छे भएकाले हामी सबै र्सतर्क भई सोचीबिचारी कदम चाल्नुपर्छ।’


उपाध्यक्ष वैद्यले अध्यक्ष दाहाल आफूहरूलाई ‘सिध्याउन’ लागिरहेको भन्दै चनाखो भएर लाग्न पनि आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। आफू पक्षधरका जिल्ला सेक्रेटरीभन्दा माथिल्लो तहका नेताहरूलाई राजधानी बोलाएर रणनीति र योजनाबारे प्रशिक्षण दिने क्रममा वैद्यले दाहालमाथि गम्भीर आरोप लगाएका हुन्।

स्रोतका अनुसार वैद्यले पछिल्लो एक सातामा पर्ूर्वी र मध्य कमान्डका निकटस्थ नेताहरू राजधानीमा भेला गरी आफ्नो रणनीति बताएका छन् भने बाँकी तीन कमान्डको भेला हुँदै छ । केही दिनदेखि बानेश्वरमा जारी सो भेलामा वैद्यसहित सचिव गजुरेल, स्थायी समिति सदस्यद्वय देव गुरुङ र नेत्रविक्रम चन्द तथा पोलिटब्युरो सदस्य पम्फा भुसाल, धर्मेन्द्र बाँस्तोलालगायतको उपस्थिति छ।

अध्यक्ष दाहालप्रति निकै आक्रोशित ढंगले प्रस्तुत भएका वैद्यले युद्धकालमा महासचिव रामबहादुर थापा ‘बादल’ नेतृत्वमा फौजी आक्रमण सफल भएपछि पार्टी कब्जा गर्छ भन्ने डरले पम्फा भुसालसँग नाम जोडेर ‘ब्लेम’ लगाएकोे पनि उनले बताएका थिए। ‘बादल कमरेेड र भुसालजीलाई जोडेर कहिले नैतिक पतन गराउने त कहिले गौरवजी सेतै कपाल फुलाएर युरोप भासिए भनेर अरूमार्फ भन्न लगाइयो,’ वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बादलले पार्टी कब्जा गर्न लाग्यो भनेर त्यो ब्लेम लगाइएको थियो, अहिले पनि हामीलाई ब्लेम लगाइयो भने अचम्म मान्नुपर्ने छैन।’

अन्तर्राष्ट्रिय सन्दर्भमा कम्युनिस्ट (माओवादी) आन्दोलनबारे प्रशिक्षण दिएका चन्दले अध्यक्ष दाहालले १४ जेठअगाडि पार्टी विभाजन गरेर नजान अनुरोध गरेको पनि भेलामा खुलासा गरेका छन्।

‘प्रचण्डले मलाई १४ जेठअघि पार्टी फुटाउन आग्रह गर्नुभयो,’ चन्दको भनाइ उद्धृत गर्दैर् स्रोतले भन्यो, ‘तर, मैले विचारमा सहमत हुन सकिँदैन भने पार्टी फुटाएर भए पनि विचारको रक्षा गर्नुपर्छ भन्ने जवाफ दिएको छु।’

अध्यक्ष दाहाललाई पार्टी विभाजन हुन्छ भन्ने ठूलो त्रास भएको सहभागीहरूलाई चन्दले जानकारी गराएका थिए । ‘त्यसकारण, अध्यक्ष पक्षधरहरू पार्टी विभाजन भए पनि पार्टी कार्यालय भने आफैंले कब्जा गर्नुपर्छ भनेर रणनीति बनाइरहेका छन्,’ चन्दले भेलामा खुलासा गरे । वर्षमान पुन, हरिबोल गजुरेल, लोकेन्द्र विष्टमगर लगायतले कुनै पनि हालतमा वैद्य पक्षधरलाई पार्टी कब्जा गर्न नदिन गोप्य भेला गरिरहेको पनि उनीहरूको ठहर छ। अध्यक्ष दाहालले आफूहरूले पार्टी विभाजन गर्न लागेको भन्ने आन्तरिक रूपमा हल्ला चलाइरहेको निष्कर्षा वैद्य पक्षधर रहे पनि तत्काल पार्टी विभाजनको पक्षमा भने नभएको एक नेताले बताए । ‘पार्टीभित्र पार्टी संगठनभित्र संगठन र योजनाभित्र योजना बनाएर हामी जान्छौ तर पार्टी विभाजन गरेर जाँदैनौ,’ ती नेताले राजधानीसँग भने ।

उनका अनुसार दाहाल वा उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्षधरको इन्चार्ज भए आफूहरूले सेक्रेटरी माग्ने र त्यो पनि नभए सहइन्चार्ज भए पनि लिएरै छाड्ने योजना वैद्य पक्षधरको छ । जिल्ला तहदेखि केन्द्रसम्मको ‘पोर्टफोलियो’का लागि ‘सम्झौताहीन बार्गेनिङ’ गर्ने योजना पनि जानकारी गराइएको र त्यसैअनुसार आफ्नो तहबाट परिचालन हुन निर्देशन भएको पोलिटब्युरोका अर्का नेताले राजधानीलाई बताए ।

गोप्य भेलामा नेता गुरुङले आफूलाई झुक्याएर अध्यक्ष दाहालले संवैधानिक समितिको विवाद उपसमितिबाट कांग्रेस र एमालेको एजेन्डा पास गराएको बताएका थिए ।

‘मलाई समेत झुक्याएर संवैधानिक समितिमा पार्टीले एजेन्डा पास नगराई अध्यक्षले कांग्रेस-एमालेको एजेन्डामा सहमति गराउनुभयो,’ गुरुङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

अध्यक्ष दाहालमा मध्यपन्थी, सारसंग्रहवादी, विर्सजनवादी चरित्र देखापरिसकेको तथा दक्षिणपन्थी चरित्र उन्मुख हुँदै गएको भन्दै पार्टी क्रान्तिका लागि त्यो निकै खतराका रूपमा देखापरेको वैद्य पक्षको ठहर छ।

यता, संगठनमा पकड जमाउन वैद्य पक्षधरले युद्धकालमा महासचिव बादलको नेतृत्वमा रहेको ‘इन्टेलिजेन्स ब्युरो’लाई ब्युँताएको छ । हाल निष्त्रिय रहेको सो ब्युरोलाई ब्युताउँदै चन्दलाई त्यसको कमान्डर तोकिएको एक नेताले बताए । चन्दको नेतृत्वमा रहेको सो इन्टेलिजेन्स ब्युरोमा करिब दुई दर्जन सदस्य रहेको स्रोतले बतायो । ‘त्यसको काम सूचना संकलन गरेर केन्द्रमा पुर्‍याउने हो,’ एक नेताले भने । आफ्ना सहकर्मीलाई मोबाइल र टेलिफोनबाट भन्दा पनि भेटेरै कुरा गर्न ब्युरोले निर्देशन दिइसकेको सहभागीहरूको भनाइ छ ।

No comments:

Post a Comment