Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 1, 2014

फिल्म हेर्न गएको हलमा दर्शक नै आई दिएनन, फर्केर आयौ

सिनेमा हलका खाली कुर्सी, जहाँ दर्शक नै नआए पछि आजको ११ बजे शो चलेन
आज बिहान अनामनगर जक्सन मै माधव धिताल र मेरो फिल्म हेर्ने योजना बन्यो । त्यसपछि सुन्धारास्थितको 'सिने दी क्याफे' मा जाने कुरा भयो तर त्यहाँ 'राजा नटरबाला' भन्ने फिल्म हामीले खोजेको समयमा लागेको रहेनछ । त्यसपछि पत्रिकामा बिज्ञापन हेरयौ, बिज्ञापन हेरे पछि हामीलाई उपयुक्त समयका लागि सो फिल्म एक साता अघिवाट सञ्चालनमा आएको  दरबारमार्गस्थित राइजिङ मलमा अबस्थित ‘क्युज’ (अर्थात http://qscinemas.com) मा मात्र देखियो । हुन त यस अघि त्यहाँ रानी मुर्खजीको मर्दानी भन्ने फिल्म हेरेका थियौँ, त्यही हलमा । समय पनि मिलेको र आफुले चाहेको पनि फिल्म हेर्नका लागि त्यो हल जति उपयुक्त कुनै हल देखिएन । र, टिकट प्याक भइसक्यो कि भएन भनेर बुझनका लागि सो सिनेमा हलले उपलब्ध गराएको फोन नम्बर ०१–४१६९२०१ र ०१–४१६९२०२ मा सम्पर्क गरेको थिएँ तर दुवै फोन उठेन । फोन नउठे पछि बाइक लिएर हामी दुवै सो सिनेमा हल तिर गयौं । बाटोमा मैले माधवलाई भने, ‘टिकट प्याक भएको रहेछ भने ठिकै छ, भोली हेरौला नभए राइजिङ मलमा नै हेरयौ ।’ उसले सहमति जनायो । र भन्यो– 'त्यहाँ भएन भने दिउँसो नभए सुन्धरा क्युएफएक्समा जाउँला ।’ मैले उसको प्रस्तावमा सहमति जनाए ।
राइजिङ मल पुगे पछि सिनेमा हलको टिकट काउन्टर, जुन सडक छेऊमा नै छ, ‘टिकट कत्तिको प्याक छ ?’ भनेर बुझन माधवलाई पठाए । टिकट काउन्टरमा उ पस्यो, म सडकमा बाइक रोकेर बसे । एकछिन सम्म के के कुरा गरयो थाहा भएन ।
मैले सोचे, 'साढे १० भइसकेको छ, ११ बजेको शो त प्याक भयो' होला भनेर । केही बेर उसले काउन्टरमा कुरा गरयो र मतर्फ फर्केर हाँस्यो ।
मैले सोचे, ‘बेलामा बुकिङ गरेको भए पो टिकट पाउनु, नगरे पछि आज यस्तै हो ।’ फिल्म हेर्न पाइएन भन्ने नै लाग्यो ।
फर्केर उसले भन्यो, ‘सिट त पुरै खाली छ ।’
मैले बुझिन । त्यसपछि मैले सोधे, ‘के भनेको यार मैले बुझिन ।’
उसले भन्यो, ‘सिट सबै खाली छन्, कसैले पनि टिकट काटेको छैन् ।’ मैले पत्याऊदै पत्याइएन ।
आफै बाइकवाट ओर्लेर काउन्टरमा गए 
तस्बिर चाँही हल सुरु गर्नु अघिको हो, जुन दरबारमार्ग, कमलादी जाने बाटोमा छ ।
काउन्टरमा गएर सोधे, जहाँ एउटी केटी बसिरहेकी थिई,
 सोधे ‘के सबै सिट खाली हो र ?’
काउन्टरकी केटीले भनी, ‘सर अहिलेसम्म कुनै पनि टिकट 'शोल्ड' भएको छैन, सिट पुरै खाली छ ।’
मैले त सिनेमा हलमा आज सम्म यस्तो घटना देखेको त परै जाओस, सुनेको सम्म थिइन । त्यो पनि काठमाडौं, काठमाडौंको पनि दरबारमार्गमा रहेको सिनेमा हलमा दर्शक नै भएनन भन्ने कुरा विश्वास गर्ने कुरै थिएन । अनि मैले उसको बुक गर्ने कम्युटरमा हेरे ।
साँच्चै, साढे १० बजेसम्म कुनै पनि टिकट विक्री भएको थिएन ।
‘५ जना मात्रै दर्शक भए भने फिल्म चलाउन मिल्छ, नत्र मिल्दैन,' उसले भनी, 'केही बेर कुर्नहोस, तीनजना दर्शक आए भने पनि फिल्म चल्छ ।’
अब के गर्ने त ? साँच्चै बिलखबन्दमा परियो ।
‘ठिकै छ, नयाँ नयाँ हल हो, थाहा नपाएर नआएका होलान, केही बेर कुर्छौ’
उसले भनी, ‘एकछिन माथी बस्नुहोस कोही दर्शक आए भने फिल्म चलाउँछौ तर फिल्म चलाउन कम्तिमा पनि ५ जना दर्शक अनिवार्य हुन जरुरी छ, नत्र चलाउन मिल्दैन सर ।’
त्यसपछि महेन्द्र शालिक हुदैँ त्रिचन्द्रवाट घुमेर गणेशस्थानसम्म गयौं । २० मिनेट जति गणेशस्थानमा बसे पछि फेरी कोही दर्शक आइ हाले की भनेर हामी फेरी फिल्म हल तिर गयौं ।
र, टिकट काउन्टरमा गएर बुझयौ,
‘तपाईको टिकट विक्री भयो त ?"
बिचरी ती केटी केही बोल्न सकिनन् ।घडी हेर्छु १०:५२  भई सकेको थियो ।
यतिबेलासम्म पनि हलमा फिल्म हेर्न कुनै दर्शक नआए पछि हामीले पनि आश मारयौ ।
काउन्टरमा रहेकी केटीले भनी, ‘सरी सर, अब यो फिल्म चल्दैन, टिकट काटन कोही पनि आएनन, तीन जना मात्रै आएको भए, तपाईहरुसहित ५ जना हुन्थे, ५ जना नि नभए पछि फिल्म चलाउन मिल्दैन ।’
फिल्म चलाउनका लागि आवश्यक ५ जना मध्ये दुई जना त हामी थियौ नै तर अरु ३ जना आएनन । यदी ३ जना आएको भए हलवालाले फिल्म चलाउने बचन दिएका थिए । बिडम्बना, आधा घन्टा कुर्दा पनि कोही आएनन । ५ जना दर्शक पनि नभए पछि फिल्म नचलेको दृश्यको प्रत्यक्षदर्शी बनेर हामी त्यहाँवाट हिडयौ । हिडदा १०:५५ भइसकेको थियो ।
मैले यस्तो होला भनेर कहिले पनि सोचेको थिइन तर आफैले भोगियो । किन, के कारणले सो सिनेमा हलमा  दर्शक आएनन । मैले बुझन सकिन् । थप तीन जना दर्शक नआए पछि काउन्टरले दुईजनालाई मात्रै टिकट दिएन । टिकट काट्न पाँच जना पनि नआए पछि ११ बजेको शो चल्ने कुरा भएन । नचले पछि त्यहाँ बसिरहनु पर्ने कुरा पनि भएन । अनि हामी पहिलो र अनौठो अनुभव बोकेर राइजिङ मलबाट अनामनगरतिर लाग्यो ।


सिनेमा हल संबन्धी मेरो यो तेस्रो रोचक घटनाको रुपमा दर्ज हुन पुग्यो । यस अघि सिनेमा हल संबन्धी दुईवटा रोचक घटना मेरो जीवनमा घटेको थियो । यस अघिका दुई घटनालाई पनि मैले यही ब्लगमा उत्तारेको थिए, आज फेरी उतार्न बिबश भए ।

पहिलो,  फिल्म हेर्दा हेर्दै हलको भित्तो नै भत्किए पछि...  (यहाँ क्लिक गर्नुहोस)
दोस्रो, हल भित्र छाता ओडेर फिल्म हेर्नु पर्दा....( यहाँ क्लिक गर्नुहोस)

No comments:

Post a Comment