Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 16, 2013

बादल र बर्षाले ड्यास माओवादीमा गडयाङगुडुङ

एकीकृत माओवादीसँग छुट्टिदा मोहन बैद्यहरुले जनबिद्रोह गर्ने भने, र महाधिवेसनवाट पास नै गरायो, ‘जनयुद्धको जगमा जनबिद्रोह ।’ प्रज्ञा भवन, काठमाडौंमा सम्पन्न भएको महाधिवेसनमा जनअदालत, जनमुक्ति सेना, जनसरकार विघटन जस्ता जनयुद्धका जग नै विघटन भएको अवस्थामा कसरी त्यही जगमा टेकेर जनविद्रोह हुन्छ भनेर प्रश्न उठाए तर नेतृत्वका सामु कार्यकर्ताको केही लागेन । यद्धपी पार्टी विभाजन भएको एक वर्ष बितिसक्दा पनि बिद्रोह त परै जाओस, बिद्रोहका लागि आधार पनि तयार भएको छैन किनकी वैद्य माओवादीले त्यसका लागि ठोस कार्यक्रम नै दिन सकेको छैन् । तर, समय बदलियो । घटनाक्रम अन्य तरिकाले बिकास हुदैँ गयो । त्यसैको असर हुनसक्छ, ‘जनबिद्रोह गर्ने’ भनेर विभाजन भएको पार्टीमा अहिले ‘निर्वाचन’ छिरेको छ, लुसक्क । त्यो पनि बर्षा उपनाम भएकी एक महिला नेतृले बिद्रोह भित्र निर्वाचन छिराए पछि माओवादीमा अब बिद्रोह गर्ने कि निर्वाचनमा जाने भन्ने बहस हुने देखिएको छ ।
खासमा वर्षा (नैनकला थापा) उपनाम गरेकी नेतृका श्रीमान भने बादल (महासचिव रामवहादुर थापा) हुन । श्रीमान बादल, श्रीमति बर्षा यो उपनामको दुर्लभ संयोग पनि अचम्मको छ । बर्षा केही समय अघिसम्म राष्ट्रिय महिला आयोगकी अध्यक्षको रुपमा बिराजमान थिइन् । जब चाँदतार मधेसवाट आइन, तब उनी त्यहाँवाट बाहिरिएकी हुन् । उनै वर्षा यतिखेर जनबिद्रोह गर्ने पार्टी भित्र निर्वाचनमा जानुपर्छ भनेर जोडतोड गरिरहेकी छिन् ।
२९ चैतमा केन्द्रिय समिति बस्नु अघि वैद्य माओवादीको सल्लाहाकार समितिको वैठक, बुद्धनगरमा बस्यो । सोही बैठकमा वर्षाले भनिन, ‘अब पार्टीले बिद्रोह– सिद्रोह भन्ने होइन, अब निर्वाचनमा जानुपर्छ, निर्वाचनमा गएनौ भने तपाई हामी सबै सिधिन्छौं ।’ उनको यो कुरा मन प¥यो, सल्लाहकार संयोजक कृष्णदास श्रेष्ठलाई । त्यसपछि हस्तवहादुर केसी,  हुकुमवहादुर केसीलगायत पनि बर्षासँग निर्वाचनको पक्षमा बर्सिन थाले । पार्टीलाई बिद्रोहमा लैजाने कि निर्वाचनमा लैजाने भन्ने बारेमा कुनै सहमति हुन नसके पछि दुई खाले धारणा अध्यक्ष बैद्य बाकोमा पु¥याइयो । कसैले बिद्रोहको पक्षमा मत दिए, कसैले निर्वाचनमा सहभागी हुने पक्षमा ।
हुन त १० वर्षे जनयुद्ध हाँकेका प्रचण्डले त ०६८ पौस–माघको केन्द्रिय समिति वैठकमा लिखित दस्तावेज पेश गर्दै स्विकार गरिसकेका थिए, ‘सचेत प्रयत्नका बाबजुद पनि जनबिद्रोह (पाँच दिने आमहडताल) सफल हुन सकेन ।’ तर, वैद्य बालाई प्रचण्डको सो कुरा पत्यार लागेन, प्रचण्डले ढाट्यो मात्र भन्ने लागिरहयो, लागेकै छ । अझैसम्म पनि उनले रटन छाडेका छैनन, ‘जनबिद्रोह हुन्छ र गछौं ।’ तर वैद्यको कुरामा भने बर्षालाई अलकति पनि विश्वास छैन, जो अविश्वास उनका पति बादलले पनि गरेका छन् ।
किनपनि भने, ०६९ असार ५ गते ‘जनबिद्रोह’ गर्ने भन्दै विधिवत रुपमा प्रचण्डसँग छुट्टिएकाले त्यसका लागि कुनै कार्यक्रम बनाउन सकेनन, जबकी पार्टी विभाजन भएको एक बर्ष पुग्न जम्मा दुई महिना मात्र बाँकी छ । सोही कारण देखाउँदै वैद्यसँग आएका केन्द्रिय सदस्यहरु कृष्णध्वज खडका, रेखा शर्मा, कुमार दाहाललगायत पुनः प्रचण्डको शरणमा फर्किसकेको अवस्था छ । सो घटना पछि पछि मात्र बहस सुरु भयो, पार्टीको आगामी भविश्यका बारेमा । सोही बहसको सिलसिलामा बादलकी बर्षाले नयाँ कुरा राखिन, जुन महाधिवेसनको म्यान्डेट बिपरित थियो । यद्धपी, त्यसको बिकल्प माओवादीसँग नभएको बर्षाको तर्क रहदै आएको छ ।
यता, बर्षाले सो बोल्नु अघि बादलले निर्वाचनमा जानुपर्ने र त्यसका लागि तलवाट माथी दबाब दिनुपर्ने धारणा राखे सकेका थिए, तराई–मधेसका जिल्लामा पुगेर । उनले ग्राउन्ड बनाउँदै गर्दा त्यो भित्री प्रयास बाहिर आयो, त्यसको सामना कति गर्नुप¥यो, त्यो बादललाई नै थाहा होला । ‘बिद्रोहमा जानु पर्ने भनेर महाधिवेसनले भन्ने तर तपाई निर्वाचनको पक्षमा उभिने ?’ भन्दै बादललाई धेरैले ¥याख¥याख्ती नै पारे । तर, सल्लाहकार समितिमा बादलले आफ्नो कुरा श्रीमतीमार्फत भने राख्न भ्याएका छन् । यो चलाखीलाई पनि मान्नै पर्छ । 
जब बादल भुगोलमा कार्यकर्ता पंक्तिमा पुगे, निर्वाचनमा सहभागी नभए भएका कार्यकर्ता जोगाउन पनि मुश्किल हुने गरेको थाहा पाए । राष्ट्रिय अन्तराष्ट्रिय परीस्थिति पनि निर्वाचनको पक्षमा देखिएको र त्यसलाई अस्विकार गरेर जाँदा पार्टीको छबि र स्थीति झनै कमजोर हुने उनको वुझाई बिकास भयो । मतलब, उनी जनबिद्रोहलाई अब चाँही वोक्ने पक्षमा छदैछैनन् । 
पार्टी वैठकमा बादले यो कुरा त औपचारिक रुपमा बोलिसकेका त छैनन, मन मै छ । तर पनि, आफु निकट ताम्सालिङ राज्य समितिका सेक्रेटरी सुर्य सुवेदी पथिकलाई भने लुसुक्क बोल्न लगाए, गएको सोमवारको केन्द्रिय समितिको वैठकमा । ‘पार्टीले आसन्न संविधानसभा निर्वाचनको पक्षमा छलफल गरोस र सहभागी हुने÷नहुने एउटा ठोस निर्णय गरोस’ वैठकमा उनको प्रस्ताव आयो । नेतृत्व त्यसमा सकारात्मक नै छ । वैशाख ९ गते देखी सुरु हुने केन्द्रिय समितिको बिस्तारित वैठकमा यो बिषय जोडतोडका साथ उठने भएको छ । सम्भवतः वैठकमा निर्वाचनको पक्षमा नै माहौल बन्नेमा बादल भने निकै आशावादी पनि छन् ।
आजै थपिएका १ सय वैकल्पिक सदस्य मध्ये धेरैले निर्वाचनको पक्षमा त प्रकट गर्छन भन्ने उनको अनुमान छ । त्यसका लागि केन्द्रिय सदस्य थपिदा केही सेटीङ उनले मिलाइसकेका पनि छन् ।
यद्धपी, तत्काल बिद्रोह गर्ने अवस्था नभएकोमा वैद्य स्वयं पनि सहमत छन, जसमा सवैजसा नेताको समर्थन नै छ । तत्काल हतियार उठाएर जान सक्ने अवस्थामा माओवादी छैन, त्यसका लागि पुनः हतियार उठाउने मानशिकता जगाउन जादु पनि उनीहरुसँग छैन । हारेको मानशिकता बोकेर वाँचेका पुर्व लडाकुहरुले पुनः वैद्यको एक आब्हानमा युद्धमा आउलान भन्ने छैन । बरु ती लडाकुमा खाडी देश गएर कमाएर खाने मानशिकता बिकास भएको अवस्था छ । दोस्रो, ब्यवस्थापिका संसदको निर्वाचनको बहिस्कार गर्नु र संविधानसभा निर्वाचनको बहिस्कार गर्नु अलग अलग कुरा हुन । जति सजिलो संसदीय निर्वाचन बहिस्कार गर्नुमा छ, त्यो भन्दा कयौं गा¥हो संविधानसभा निर्वाचन बहिस्कार गर्नुमा । ‘जनताको पक्षमा संविधान’ बनाउन बिद्रोह गर्ने भन्ने माओवादीले सोही उदेश्यले हुने निर्वाचनलाई बहिस्कार गर्नु सायद असान्दर्भिक नै हुन्छ ।
त्यसैले जनताको पक्षमा एजेन्डा राखेर जति चुनावमा जानु उनीहरुका लागि तत्कालको लागि जनसमर्थन देखिन सक्छ, त्यो समर्थन संविधानसभा नै बहिस्कार गरेर बिद्रोहमा जाँदा थप सकसपुर्ण हुनेछ । यसै प्रति सचेत हुनु र जिम्मेवारी निर्णय गर्नु उसको अहिले मुख्य चुनौति हो । बादल र बर्षाको कुरो पनि यही हो । बिद्रोहमा नगए पार्टी फुटको औचित्य नहुने र संविधानसभा निर्वाचनमा सहभागी नभए राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा गलत म्यासेज जाने डर र समर्थन गुम्ने भयका बिच माओवादी यतिखेर गुज्रिरहेको छ । बिद्रोह र निर्वाचनको चक्रब्युहमा फसेको माओवादीले अब के गर्ला त भन्ने बारेमा निष्कर्ष निकाल्न भने कम्तिमा एक साता कुनुपर्ने देखिन्छ । किनभने, ९ गते सुरु हुने बिस्तारित वैठक माओवादीका लागि आगामी राजनीतिक प्रस्थान बिन्दुको एउटा कोसेढुंगा साबित हुदैछ । त्यसले नै मुलुकमा निर्वाचन हुने÷नहुने पनि संकेत पनि गर्छ, किनभने आजसम्म माओवादी ‘यथास्थीतिमा हुने’ निर्वाचन बहिस्कार गर्ने एजेन्डा लिएर आन्दोलनरत छ ।
तर, महाधिसवेसनको ‘म्यान्डेट बिपरित’ अभिव्यक्ति दिने र त्यसको प्रयास गर्ने बादल र बर्षाको गडगडाहट कत्तिको शक्तिशाली हुन्छ ? त्यो पनि एउटा प्रतिक्षाको बिषय छ । यो चाँही पक्का छ अब केही चाँही माओवादी भित्र हुन्छ ।





No comments:

Post a Comment