Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 17, 2013

नयाँ सदस्य थपमा महाभारत

प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ४ - मोहन वैद्य नेतृत्व केन्द्रीय समितिमा नयाँ अनुहार थप गर्ने विषय सकसपूर्ण भएको छ। गत चैत २९ देखि जारी बैठकले पाँच दिन लम्बिसक्दा पनि नयाँ सदस्य चयन गर्न सकेको छैन।
५१ पूर्ण र १ सय वैकल्पिक गरी १ सय ५१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनाउने सहमति भए पनि नयाँ नामावलीबारे अझै सहमति जुट्न नसकेको हो। जारी बैठकमा सहमति जुट्न नसकेपछि सोको अन्तिम निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइएको छ।
चैत २९ मा सुरु केन्द्रीय समिति बैठकले ५१ जना पूर्ण र १ सय जना वैकल्पिक गरी १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरिसकेको प्रचार विभाग प्रमुख महेश्वर दाहालले बताए। 'थपिएका सबै अनुहारलाई वैकल्पिक केन्द्रीय सदस्य मानिएको छ,' दाहालले नागरिकसँग भने, 'भोलिसम्ममा सबै नामावली टुंगो लागिसक्छ र सम्भवतः सार्वजनिक पनि हुन सक्छ।' तर, को-को केन्द्रीय सदस्य चयन भएका छन्, त्यो भने उनले खुलाउन चाहेनन्।
खासगरी मधेस र नेवाः राज्य समितिबाट नयाँ सदस्य चयन गर्ने सवालमा अझै पनि केन्द्रीय समितिमा सहमति जुट्न सकेको छैन। केन्द्रीय सदस्य महेन्द्र पासवानले नयाँ अनुहार थप गर्दा पार्टी केन्द्र मधेसप्रति अनुदार भएको भन्दै आपत्ति जनाएका छन्। 'मधेसको नेतृत्व निर्माणको सवालमा पार्टी केन्द्र अनुदार देखिएको छ,' पासवानालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'मधेसीले पार्टीभित्र सम्मानजनक स्थान नपाए त्यो अनुत्पादक हुन जानेछ।'
मध्य ब्युरो कमान्डका इन्चार्ज तथा महासचिव रामबहादुर थापाले आफ्नालाई मात्र केन्द्रमा ल्याएको भन्दै पासवानले आपत्ति जनाएका छन्। मिथिला र भोजपुराबाट क्रमशः पाँच र चार जनामात्र सदस्य केन्द्रीय समितिमा आएपछि पासवानले आपत्ति जनाएका हुन्।
अन्य राज्य समितिमा सहमति जुटे पनि अझै पनि नेवाः, मिथिला र भोजपुरामा ल्याइएका नयाँ अनुहारमा भने विमति र आपत्ति प्रकट भएका छन्। स्रोतका अनुसार ब्युरो कमान्ड प्रमुखका नाताले महासचिव थापाले पेस गरेको नामावली एकपक्षीय भएको असन्तुष्ट पक्षको आरोप छ। पाँच दिनको बैठकले नामावलीबारे टुंगो लगाउन नसकेपछि अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्दलाई दिएको हो।
केन्द्रीय समिति विस्तारमा सहमति नभएपछि बैठक राजनीतिक एजेन्डामा प्रवेश गर्न सकेको छैन। संविधानसभा निर्वाचनमा सहभागी हुने/नहुने, 'जनयुद्धको जगमा जनविद्रोह'का कार्यदिशालाई सफल पार्न कस्ता-कस्ता कार्यक्रम दिने/नदिने जस्ता बिषयमा माओवादीले बैठकमा छलफल चलाउँदैछ। 'त्यसका लागि १ सय ५१ जना केन्द्रीय सदस्य नै सहभागी हुने गरी आगामी वैशाख ९ गते पुनः बैठक डाकिएको छ,' एक केन्द्रीय सदस्यले भने, 'नयाँ सदस्यसहितको बैठकले आगामी दिनमा पार्टीले खेल्ने भूमिकालाई थप प्रष्ट पार्नेछ।' उनका अनुसार सोही बैठकमार्फत माओवादीले नयाँ कार्यक्रम लिएर आउनेछ।

No comments:

Post a Comment