Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, September 30, 2012

'भारतले रोक्यो, हामीले पनि रोक्यौं'

प्रकाश तिमल्सिना, काठमाडौं, असोज १४- मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले भारतीय पक्षले नेपाली सवारीको आवातजावत र सञ्चालनमा भारतमा रोक लगाएकाले भारतीय सवारी आगमनमा रोक लगाउन बाध्य भएको बताएको छ।
'नेपालका सवारीहरुलाई भारतीय सीमामा रोकथोक गर्ने र सहज तरिकाले आवातजावत गर्नमा अवरोध पुर्‍याउने काम भइरहेकाले हामीले पनि भारतीय सवारीको आगमनलाई नेपालभित्र अवरोध गर्ने निर्णयमा पुगेको हौं,' केन्द्रीय सदस्य भरत बमले नागरिकसँग भने, 'दुई देशबीचको आर्थिक पक्षमा पनि समानता हुनुपर्छ भन्ने हाम्रो मुख्य भनाइ हो।'
केन्द्रीय समितिको निर्णयअनुसार भारतीय नम्बर प्लेटको सवारी आगमन र सञ्चालनमा अवरोध गर्ने कार्यक्रम सरकारी तहबाट कार्यान्वयन नभएसम्म जारी रहने बमको भनाइ छ।
भारतीय सीमा क्षेत्रमा नेपाली सवारी प्रवेशमा रोक लगाउने मात्र होइन, नियमपूर्वक अनुमति लिएर गएका सवारीलाई पनि अनेकौं दुःखसास्ती दिने गरिएको माओवादीको आरोप छ। 'तर त्यसतर्फ भने तिनी (विरोधी) हरु भने सबै मौन देखिन्छन्, यसबाट तिनीहरुको राष्ट्रियताप्रतिको दृष्टिकोण र विदेशभक्ति स्पष्ट हुन्छ,' माओवादी प्रवक्ता पम्फा भुषालले भनिन्।
भारतीय सवारी आगमनमा अवरोध गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिमा नेकपा-माओवादीले चर्को आपत्ति जनााएको छ। 'युद्ध थाल्नुअघि भारतीय नम्बर प्लेटका सवारीलाई नेपाल आगमनमा निषेध गर्नुपर्ने माग राख्दै शेरबहादुर देउवालाई पत्र बुझाउने उहाँ (भट्टराई) नै हो, अहिले प्रधानमन्त्री भएपछि कारबाही गर्छु भनेर उहाँले राजनीतिक नैतिकता झन् गुमाउनुभएको छ,' भुषालले नागरिकसँग भनिन्, 'उहाँ (प्रधानमन्त्री) ले अहिले देशको राजनीति होइन, नुनको सोझो गर्दै हुनुहुन्छ।'
सबै सवारीलाई अवरोध छैन : प्रवक्ता
यसैबीच, माओवादीले शनिबार विज्ञप्ति जारी गरी औषधी र ग्यासलगायत संवेदनशील वस्तु ओसारपसार गर्ने सवारीमा अवरोध नगरेको बताएको छ। 'भन्सार प्रक्रिया पूरा गरी त्यस्ता साधनलाई गन्तव्यसम्म बिनाअवरोध आवातजावत गर्न छुट दिने हाम्रो पार्टीको निर्णय रहेको सम्बद्ध सबैलाई जानकारी गराउँछौं,' भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालका यात्रुबाहक र ढुवानीको साधनलाई प्राथमिकता दिनुपर्छ भन्ने आशयलाई कतिपयले भारतीय समानको ढुवानीमा नै रोक लगाएको जस्तो नकारात्मक प्रचार गर्नु दुःखदायी छ।'

No comments:

Post a Comment