करुणा कुँवर, मनोविज्ञ (फेमिली थेरापिस्ट)
नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन ।
यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति
नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने
धेरैका लागि अतिरञ्जनको विषय । प्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया
यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि प्रायड पढेका नेपाली
बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा
मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि
पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन
मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको
यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको
वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन
मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन
मनोविज्ञानका विषयमा गरिएको कुरा ।
तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ ?
मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका
सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन ।
त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको
मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने
विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात्, तपाईंको परिवारका सदस्यमा
कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ ।
तपाईंसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरू के-के रहेछन् ?
पुरूष होस् वा महिला, सुरुमा उहाँहरु
आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन्
भनेर समस्या लिएर आउँछन् । कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ
। अर्थात्, कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा
त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने
गरेको मैले पाएँ ।
सेक्सकै कारण समस्या आएको जोडी कति पाउनु भयो, प्रतिशतमा भन्न सकिन्छ ?
९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि
नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै
कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै
रुपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ, मेरो
प्राक्टिसमा पनि यही पाएकी छु ।
केही उदाहरण दिन सकिन्छ ?
धेरै जोडी विवाहको ५-७ वर्षपछि मकहाँ
समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ ।
एक अर्कामा दोषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी खाने, समय नदिने
अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर
विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्यो
भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो
लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो
हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरूको रुप र
व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती
क्रियाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ ।
नेपालीहरूको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो ?
सामान्यतया नेपालीहरुलाई सेक्स गर्न
आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरूष लिङ्ग महिलाको योनीमा
प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम
कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा
यौनभित्र पर्छन् । त्यसबारे धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा
पुरूष हावी हुने गरेका छन् । अनि महिलाले पनि पुरूषका लागि आफूले
सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहीँबाट सुरू हुन्छ । वास्तवमा सेक्स
कसका लागि, केका लागि भन्ने कुरा हामी प्रस्ट छैनौँ ।
नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो ?
उनीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा
सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन,
परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो
भन्नेजस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो
सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका
महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा
गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् । तपाईंले कतिपय
महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न
मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसको मूल कारण नै उनीहरुमा
सेक्सप्रति भएको वितृष्णा हो । जब कि नाङ्गो हुनु सेक्सका लागि
अनिवार्यजस्तै हो ।
नेपालका शहरी क्षेत्रमा
महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको
सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ ?
शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन
थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि
भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै
वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको
देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको
यौन व्यवहारले छुट्याउने कुरा हो । यौन क्रियाकलापका बेला दुवै जना पूर्ण
सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि
राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।
विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा
समान सहभागिता खोज्छन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ
महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही
कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो
सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा
गुदा मैथुनको कुरा गर्यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् ।
त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेबित्तिकै पुरूष लिङ्ग महिला योनीमा जाने
कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको
एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।
किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ?
किशोर वयमा अचानक बेहोस हुने वा अन्य
क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा
यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोलि यसलाई कन्भर्जन
डिसअर्डर भनिन्छ । पहिलो हिस्टेरिया भएका युवतीलाई विवाह गरिदिँदा यो रोग
हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग
सम्बन्धित हो भन्ने व्याख्या गरियो । आजभोलि यौन असन्तुष्टि मात्रै यसको
कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ ।
विवाहको केही वर्षपछि
पुरुषहरू आफ्ना श्रीमतीको यौन चाहना कम भएको भन्ने गर्छन् । उनीहरू
परस्त्री गमन गर्न थाल्छन्, फलस्वरूप परिवार विखण्डनको अवस्था आउने गरेको छ
। यसको खास कारण के हो ?
विवाहको पहिलो वर्ष महिलाहरु पुरूषप्रति
जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुँदै जान्छ ।
उनीहरूको ध्यान आफ्नो श्रीमान् भन्दा छोरा-छोरीप्रति जान्छ तर पुरूषले
श्रीमतीबाट त्यही व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन
थाल्छ । मसँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक
समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न
थालेको छ ।
नेपालमा एकथरि महिला छन्,
जसका लागि यौन लाजको विषय हो । तर अर्काथरि महिला यस्ता पनि छन्, जो खुला
रूपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन्, यसलाई
कसरी लिनुहुन्छ ?
धेरै महिलाका लागि यौन लाजको विषय हो तर
लाजको विषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो
गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् ।
मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा
कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता
छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् । यहाँ महिला
मात्र होइन, पुरूषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफूलाई सफाचट
राखेर होस्, आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ । आज तपाईंको पत्रिका
सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना
मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो
कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो,
प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्,
त्यसकारण उनी सबैभन्दा बढी यौनेच्छा भएकी महिला हुन् र गाउँले युवती
लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।
यति हुँदाहुँदै पनि नेपालीहरू किन यति हिप्पोक्र्याट भएका ?
किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन
। आमाले हुर्कंदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासँग यौनका
बारेमा खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने ।
शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा
खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचरा
यौन कलङ्कित हुने नै भयो । म सभ्य छु भन्नेहरूले यसलाई नराम्रो भन्न बाध्य
भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो ।
अहिलेको नयाँ पुस्ता घरमा
यौनलाई गलत भनेको सुन्छ, तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबै कुरा
सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने ?
यो गम्भीर अवस्था हो । बाहिरबाट आएको
ज्ञान खराब पनि हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै
लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ, नत्र विकृत व्यक्ति जन्माउँछ ।
धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकहरूले थाइल्याण्डमा यही विषयमा चर्चा
गरेका थियौँ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ । (पत्रकार अश्विनी कोइरालाको पुस्तक ‘उनी’बाट)
source: onlinekhabar
No comments:
Post a Comment