Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, September 22, 2012

असन्तुष्ट तीन माओवादी नेताको राजीनामा

काठमाडौं, असोज ७ (नागरिक)- एकीकृत माओवादीले सुदूरपश्चिमलाई उपयोग मात्र गरेको भन्दै महाधिवेशन आयोजक समितिका तीन सदस्यले राजीनामा बुझाएका छन्। खगराज भट्ट, भीमबहादुर कडायत र जगत पार्कीले पार्टी र सरकार दुवैबाट सुदूरपश्चिमलाई उपेक्षा भएको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्।

'पार्टीका लागि सुदूरपश्चिमबासीले निकै ठूलो योगदान गरेका छन् तर त्यसको सही मूल्यांकन अझै हुन सकेको छैन र गरेन,' भट्टले नागरिकसँग भने, 'उत्पीडित र उपेक्षितको पक्षमा पार्टी रहेको भनेर बाहिर देखाउने काम भए पनि भित्र भने त्यसको ठीक उल्टो व्यवहार हुँदै गएपछि हामी तीनजनाले बाध्य भएर राजीनामा दिएका हौं।' उपयोग मात्र गरेर उपेक्षा गर्ने कार्य तत्काल नसच्चिए अन्य सदस्यको पनि राजीनामा आउने उनीहरूले चेतावनी दिए।
दाहालसमक्ष पेस गरिएको राजीनामापत्रमा पार्टी सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुन चाहेको उनीहरूले उल्लेख गरेका छन्। 'कर्तव्यको भारीमात्र बोकाउने तर अधिकारको प्रत्याभूति भने कहिल्यै नहुने, यो उपेक्षा र उत्पीडिनको मुक्तिका लागि राजीनामा दिएर विद्रोहका कदम चालेका छौं,' राजीनामाको भाषा उल्लेख गर्दै भट्टले भने। पार्टी र पार्टी नेतृत्वको सरकार सुदूरपश्चिमलाई उपयोगमात्र गर्ने रणनीतिमा लागेको विगत शान्ति प्रक्रियामा आएको पाँच वर्षले प्रस्ट पारेको उनीहरूको थप निष्कर्ष छ।
राजीनामा गर्ने तीनैजना असन्तुष्ट सदस्यलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले मनाउने प्रयास गरेका छन्।
'कयौं बाध्यता र बिबशताका कारण सुदूरपश्चिमलाई ध्यान दिन सकिएन, राजीनामा फिर्ता लिनुहोस्, तपाईंहरूको गुनासो जायज छन् भन्ने कुरा आज अध्यक्ष र प्रधानमन्त्रीले गर्नुभयो,' भट्टले नागरिकसँग भने, 'हामीले शान्ति प्रक्रियाका पाँच वर्ष र महिनौंसम्म पार्टीले सरकार सञ्चालन गर्दा पनि खोइ त सुदूरपश्चिमेलीले राहतको अनुभव गर्न पाएको? खै त सुदूरपश्चिमका लागि कुनै विशेष कार्यक्रम दिएको? भन्ने पनि उठायौं।' उनीहरूले पार्टी भित्र पनि समानुपातिक र समावेशीको आधारमा जिम्मेवारी दिन कञ्जुस्याइ गरेको गुनासो गरेका थिए। पार्टी भित्रैका सुदूरपश्चिमबाट मन्त्री भएकाले आफ्नो घरआँगनमा विकास लाने तर अन्य जनताकहाँ भने नपुर्‍याउने काम गर्ने गरेर गुनासो दाहाल-भट्टराई समक्ष गरेका थिए। सुदूरपश्चिमलाई उपयोग मात्र गर्ने रणनीतिमा पार्टी लागेको आरोप लगाएका उनीहरूले तत्काल नसच्याए पार्टीमा रहन नसक्ने चेतावनी दिएपछि दाहाल-भट्टराईले केही दिन पर्खन उनीहरूलाई आग्रह गरेका छन्।

No comments:

Post a Comment