Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 8, 2016

बिजय कुमार गच्छदारको मनको बह- १

बिजय गच्छदारलाई आजकाल दुईवटा समस्या परेको छ– पहिलो, सरकारमा सहभागिताको अझै कुनै सुनिश्चितता छैन् । दोस्रो, आफनै पार्टीका नेता जितेन्द्र देवले पार्टी बिभाजन गर्छु भन्दै दिएको धम्की । यी दुई तनावको बिचमा गच्छदारका आजकाल दैनिकी गुजिरहेको छ ।

तीनकुनेस्थित फोरम लोकतान्त्रिको केन्द्रीय कार्यालयमा कालो टोपी लगाएर आफनै कार्यकक्षमा ‘पहिला देश अनि मात्र मधेस’ भन्ने अभिब्यक्ति दिइरहने गच्छदारको टेबुलमा राष्ट्रिय झन्डा चम्किलो छ । त्यसमा थप्दै यस ब्लगरसँग भने, ‘पहिला पार्टीको झन्डा टेबुलमा राख्थे, अहिले चाँही राष्ट्रिय झन्डा राख्न थालेको छुु ।’ कुर्सीको ठिक पछाडी पट्टी माच्छापुच्छ हिमालको छायाँ देखिने गरी फेवातालको गज्जब पेन्टिङ झुन्डिएको छ ।
सरकारवाट बाहिरिएका कारण फ्रि रहेका गच्छदारसँग बुधवार लामै कुराकानी र भलाकुसारी भएको थियो । जसमा उनले औपचारिक र अनौपचारिक कुराकानीसमेत हामीसँग गरेका थिए । गच्छदारको पछिल्लो दैनिकी र उनको सोचका बारेमा केही रोचक पक्षलाई यहाँ समेटन खोजेको छु ।

पार्टी मिलाउँदा मिलाउँदा हैरानीमा परेका अध्यक्ष गच्छदारले पार्टी चलाउनुका अप्ठयारोको बारेमा आफनो अनुभव सुनाए – ‘निर्मलाजी (पत्नी) लाई मैले भन्ने गरेको छु, पार्टी खोलेको ७ बर्ष भयो, मेरो आयु पनि ७ बर्ष घटेको छ, पार्टी नखोलेको भए थप ७ बर्ष वाँच्थे ।’ पार्टी भित्र एउटालाई मिलायो, अर्को ठुस्कने, अर्कोलाई मिलाए, फेरी अर्को ठुस्कने प्रवृतिले पार्टी चलाउन नै हैरानीमा पर्ने गरेको गच्छदारको अनुभव रहेछ ।

तर, राष्ट्रिय राजनीतिमा आफनो अजेन्डा लागु भएकोमा भने गर्ववोध गरे पनि मधेसमा आफुलाई "मधेस बिरोधी र गद्धार" भनेर आरोप लागिरहेको देख्दा उनलाई दिग्दारी पनि रहेछ । ‘तर, १६ बुदेँ सहमति र संविधान निमार्ण गर्नका लागि आफुले खेलेको भुमिका प्रति भने मलाई गर्ब छ,’ गच्छदारले तीनकुनेको आफनै कार्यकक्षमा सुनाए, ‘१६ बुदेँ सहमति गर्दा पनि मैले सुशिलजी, ओलीजी र प्रचण्डजीलाई भनेको थिए, यो सहमति गर्दा मलाई मधेसमा मधेस बिरोधी र मधेसका गद्धार भनेर आरोप लगाउँछन तर देशलाई निकास दिनका लागि म त्यो आरोप सहन तयार छु भनेरै १६ बुदेँमा हस्ताक्षर गरेको हुँ ।’ संविधानमा पुर्ण सहमति हुने कुनै सम्भावना नभएकोमा आफु जानकार रहे पनि 'रिस्क' लिएर देशको निकास दिनका लागि आफुले जोखिम मोलेको उनको भनाई छ । 

गच्छदारको बुझाईमा आज आइपुग्दा मधेसमा आफुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुदैछ, त्यसका लागि अझै केही समय चाहिन्छ । ‘मधेसी मोर्चाले आन्दोलनका नाऊँवाट मसहित धेरै जनतालाई भ्रम दिने काम गरेका थिए तर अहिले बिस्तारै चिरिदै आएको छ,’ उनी भन्दैछन, ‘मैले १० महिना अघि गरेको सहमति नै अहिले मधेसी मोर्चाले ३ बुदेँ सहमति गरेको हु, नपत्याए दाँजेर हेर्नुहोस ।’ मधेसी मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई मत हाल्नु अघि गरेको ३ बुदेँ भन्दा आफुले ओलीलाई मतदान गर्नु अघि गरेको ८ बुदेँ अझ प्रस्ट भएको समेत जनाए । 

अझ उनले त आफुले १० महिना अघि भनेको बिषयलाई अहिले मधेसी मोर्चाले बल्ल स्विकार गरेको उनको दावी छ । ‘मैले १० महिना अघि भन्दै आएको कुरालाई मोर्चाले बल्ल स्विकार गरेको छ, छलफल संबाद र सहमतिवाटै निकास निकाल्नु पर्छ भन्थे, त्यो बेला मेरो कुरा सुनेनन, आन्दोलनमा गए तर अहिले ३ बुदेँ सहमति गरेर उनीहरु प्रक्रियामा आएका छन्’ उनले सुनाउन भ्याए ।  गच्छदारले सहमति र संबादमा आएका मधेसी मोर्चालाई सम्मान गर्न प्रधानमन्त्री लगायत सत्तारुढ दल चुक्न नहुने पनि जनाए । 

प्रधानमन्त्री दाहालले सपथ ग्रहण गरेको दिनमा राती केपी ओलीजीले फोन गरेको प्रसङ्ग सुनाउँदै उनले भने, ‘प्रचण्डजीको सपथ भएको थियो, त्यो दिन केपी ओलीले राती फोन गर्नुभयो, मुडमा पनि हुनुहुदोँ रहेछ, अग्रेजीमा नै धेरै कुरा गर्नु भयो र भन्नुभयो, ‘बिजयजी तपाईको त सपथ भएन किन हो ? मैले भने, मैले पनि थाहा पाइन, कहाँ के मिलेन ?’ त्यो चाँही अझै सम्म थाहा नभएको उनको भनाई छ ।  तर, प्रधानमन्त्री दाहालले गच्छदारलाई उनको पार्टीको सुनिश्चितता गर्दैै भारत भ्रमण पछि दुई क्याबिनेट मन्त्री र २ राज्य मन्त्रीलाई भने सपथ खुवाउने छन । गच्छदारका अनुसार भौतिक योजना र स्वास्थ्य मन्त्रालयमा आफुले दावी गरे पनि मन्त्रालयका बारेमा भने अझै टुंगो लागिसकेको छैन । 

उपेन्द्र यादव र आफु बिच मिडियामा आए जस्तो खराब संवन्ध नभएको पनि उनले खुलेरै जनाए । ‘अस्ति उपेन्द्रजीले मलाई फोन गर्नु भयो, भन्नु भयो– "बिजय दाजु तपाई र तपाईको पार्टीलाई मन्त्री हुनवाट मैले रोकेको छैन है, नपत्याए टिभी खोलेर हेर्नु, त्यहाँवाट पनि भनिदिएको छु ।’ भुषण दाहालको फायर सायडमा त्यस बारेमा प्रस्टीकरण दिएको खबर उपेन्द्रले नै गरेकोसमेत सुनाउन भ्याए । गच्छदारका अनुसार उपेन्द्रले आफुलाई सद्यै दाजु भनेर सम्मान गर्ने गरेका छन । त्यो दिन गच्छदार र उपेन्द्रका बिचमा करिब १५ मिनेट फोन भएछ, बिचमा काटिए पछि गच्छदारले फर्काएर राष्ट्रिय राजनीतिका बारेमा लामो बहस समेत गरेछन ।

गच्छदार बिहानै ५ बजे नै उठदा रहेछन र ७ बजे भित्र सम्म मै बिभिन्न बिषयमा अध्ययन गर्ने र जानकारी लिने काम गर्दा रहेछन । ‘यो तरिका चाँही मैले कोइराला परिवारवाट सिको गरेको हुँ, फारबेशगञ्जमा बिपीबाबु त चारै बजेर उठेर धेरै काम भ्याइसक्नु हुन्थ्यो, त्यो वानी मलाई पनि स¥यो ।’ अझै पनि डकुमेन्टसन गर्ने, बैठकका लागि तयारी हुने र कुन-कुन बिषय बोल्ने भन्न बारेमा उनले ७ बजे अघि नै टुंगो लगाई सक्ने रहेछन । 

तर, मैले बोल्ने कुरा देशको दिर्घकालिन हितमा छ कि छैन ? भन्ने बारेमा धेरै चिन्तन भने गर्नेछु,’ गच्छदारले सुनाए, ‘देशको हित बिपरित छ भने म बोल्दै बोल्दिन ।’ त्यसमा एउटा घटना सुनाउन पनि भ्याए । पहिलो संविधानसभा बिघटन भएको चार दिन पछि याक एन्ड यतीमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकार समर्थकहरुको कार्यक्रम आयोजना गरिएको थियो । संविधानसभा विघटन भए पछि नयाँ चुनावको मिति घोषणा गरिएको अवस्था थियो । त्यो दिन प्रचण्डले विघटित संविधानसभा पुर्नस्थापित हुनसक्ने धारणा राखेका थिए तर गच्छदारले भने त्यसलाई त्यही खण्डन गरि दिएछन – ‘इलेक्सन इज वनली वन सोलुुसन, नट अदर ।’ त्यसपछि भट्टराईले गच्छदारलाई भनेछन, ‘तपाईले प्रचण्डको भनाई खण्डन गरेर ठिक गरि दिनु भयो ।’

गच्छदारलाई एउटा ठुलो पीर रहेछ- एकजुट भएर बनाएको संविधान कार्यान्वयनमा जान्छ कि जान्न भन्नेमा । ‘१६ बुदेँ सहमति गर्दा चार पार्टीका बिचमा एउटा सहमति भएको थियो, संविधान जारी भए पछि एमालेले सरकारको नेतृत्व गर्ने, कांग्रेसले राष्ट्रपति लिने तर त्यो सहमतिलाई कांग्रेसले तोडिदिदाँ देशमा समस्या देखा परेको छ,’ गच्छदारले भने, ‘यदी त्यो सहमति नतोडेको भए संविधान कार्यान्वयन सहज र सजिलै तरिकाले हुने थिए, कांग्रेसको त्यो भुलले देशलाई ठुलो क्षति हुने खतरा देख्छु म ।’ 

कांग्रेसले सहमति तोडेर धोका दिन पहिला सुरु गरेको, अहिले त्यसमा माओवादी केन्द्र थपिएका कारण देश संकटमा रहेका उनको बुझाईसमेत रहेछ । ‘तर, म अझै पनि भन्छु, १६ बुदेँ सहमतिकर्ताका ४ दल अझै पनि मिल्न जरुरी छ, कम्तिमा पनि संविधान कार्यान्वयसम्म पुग्दा बिभाजन आउनु हुदैन ।’ पुनः ४ पार्टीलाई मिलाउनका लागि आफु लागि परेको गच्छदारले जानकारी पनि दिए । 

गच्छदारले बुधवार लामै कुराकानी गरे । दुई कप राउन्ड चिया लिएर हामी बाहिरियौं । तर, जितेन्द्र देवले मिडियामा ‘जे पनि भन्दै हिडेकोमा’ आक्रोशित रहेका गच्छदारले केही दिनमा बैठक बोलाएर स्पष्ट हुने जानकारी भने दिएका छन । 

No comments:

Post a Comment