Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, April 24, 2015

तराई–मधेसमा नेता गच्छदार र उपेन्द्रको जुगाँको रोचक लडाई

संविधान निर्माणसँग सम्बन्धित राजनीतिक मुद्दालाई लिएर मधेसका दुई प्रभावशाली नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच "व्यक्तिगत टकराव" चुलिँदो छ। यसले तराई–मधेस राजनीतिक वृत्तलाई नै दुई भागमा विभाजित गरेको छ भने तानातानमा मधेसका मुद्दा नै ओझेल पर्ने खतरा बढ्दैछ।

यही संविधानसभाका दलहरूसँग सम्झौता गरेर तराई–मधेसमैत्री नयाँ संविधान ल्याउने मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार र अर्को आन्दोलनको बलबाट संविधान बनाउन खोज्ने फोरम नेपाल अध्यक्ष यादवको मत नमिल्दा नयाँ संविधानमा तराई–मधेसका मुद्दा स्थापित गराउने सवाल नै अन्योलपूर्ण बनेको छ।

तराई–मधेसका मुद्दामा दुई ध्रुवमा रहेका यी नेताबीचको व्यक्तित्व टकराव र विमतिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकसम्म बस्न नसकेको मधेसी नेताहरू बताउँछन्। "गच्छदारजी र उपेन्द्रजीबीच व्यक्तित्व टकराव हुँदा मोर्चामा केही समस्या देखिएको छ," फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नागरिकसँग भने, "तराई–मधेसका मुद्दालाई हेर्ने सवालमा पनि दुई नेताबीच बुझाइ फरक छ, त्यही कारण मोर्चामा बेला–बेला असहज अवस्था आउने गरेको छ।" उनका अनुसार यादव पुनः अर्को आन्दोलन गरेर मधेसका मुद्दा स्थापित गराउनुपर्ने पक्षमा देखिँदै आएका छन् भने गच्छदार संविधानसभाभित्र रहेका सबै दलसँग मिलेर नयाँ संविधान जारी गर्नुपर्ने पक्षमा छन्।

तराई–मधेसका मुद्दामा नै ठूला नेताबीच नयाँ संविधान निर्माणको सवालमा फरक–फरक दृष्टिकोण बनेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक लामो समयदेखि बस्न सकेको छैन। मोर्चाको बैठक माघ १८ गते अन्तिमपटक बसेको थियो। गत चैत २८ का लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठक आह्वान त गरेका थिए, तर अन्तिम समयमा स्थगित भयो।

"गच्छदारले अहिलका लागि बैठक रोक्न भन्नुभयो, अनि मैले अन्तिम समयमा स्थगित गरेँ," महतोले नागरिकसँग भने, "अब कसरी अघि जाने भन्नेमा मधेसी मोर्चाआबद्ध दलबीच आन्तरिक छलफल भने चलिरहेको छ।"

सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले र ३० दलीय मोर्चाको सबैभन्दा ठूलो दल एमाओवादीबीच ुसंविधान निर्माणबारे भएको भद्र सहमतिु आधिकारिक भएपछि मात्र मोर्चाले आफ्नो धारणा बाहिर ल्याउने महतोको भनाइ छ।

फोरम नेपाल, सद्भावना र महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीका केही नेता आन्दोलनको बलमै सत्तारूढलाई झुकाउने मान्यतासहित अघि बढिरहेका छन् भने गच्छदार सम्झौतासहितको संविधानको पक्षमा व्यावहारिक कुरा गरिरहेका छन्। गच्छदारलाई मोर्चाभित्र रहेका महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले पूर्ण साथ दिइरहेको मधेसी नेता बताउँछन्।

राजकिशोर यादव नेतृत्वको गणतान्त्रिक फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने कतै छैनन्। "आन्दोलनको बलमा नै सत्तारूढलाई झुकाएर संविधान बनाउने र सम्झौतासहितको संविधान बनाउने दुई लाइनमा हामी अहिले कतै छैनौं," झाले नागरिकसँग भने, "मधेसी मोर्चाको आधिकारिक धारणा नआएसम्म हामी कुनै लाइनमा छैनौं।"

उनले संयोजकत्वको जिम्मेवारी लिएका महतोले मोर्चाको अविलम्ब बैठक बोलाएर आन्दोलनमा जाने कि सम्झौतासहितको संविधानमा जाने आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।

तराई–मधेसका २२ जिल्लालाई नै "एक मधेस स्वायत्त प्रदेश" बनाउनुपर्ने पक्षमा रहेका यादव बढीमा दुई प्रदेशसम्म बनाउन सहमत छन्। गच्छदार भने "एक मधेस" को पूरै विपक्षमा उभिँदै आएका छन्। गच्छदार आवश्यकताअनुसार बहुप्रदेशमा जान पनि तयार छन्।

मोर्चाको बैठकमा गच्छदार र यादवले गर्ने प्रस्तुतिमा पनि धेरै फरक हुने गरेको छ। "गच्छदार सबैलाई मिलाएर लानुपर्छ भन्ने मान्यताका साथ बैठकमा प्रस्तुत हुन्छन्, यादव भने त्यसो गर्न सक्दैनन्, उनी गच्छदारका अघि प्रायः नतमस्तक बन्छन्,"मोर्चाका एक नेता भन्छन्। उनका अनुसार मधेसी मोर्चाको प्रतिनिधित्व गर्दै गच्छदार सत्तारूढ दलदेखि अन्य स्थानमा पनि पहिला नै पुग्छन्, गच्छदारको त्यो बानी भने यादवलाई पटक्कै मन पर्दैन।

राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार मधेस आन्दोलनको ुसुप्रिमोु आफू भएको, तर त्यसको ब्याज गच्छदारले बढी खाने गरेको यादवको बुझाइ छ। उनका अनुसार यादवले तराई–मधेसमा सबैभन्दा ठूलो प्रतिस्पर्धीका रूपमा गच्छदारलाई लिइरहेका छन्।

गच्छदार र यादवका पूर्व राजनीतिक सहकर्मीसमेत रहेका तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता दुई नेताबीचको व्यक्तित्व टकराव एउटै स्थानमा व्यवस्थापन हुन नसक्ने बताउँछन्।

"एउटा भित्र र अर्को बाहिर रहेरै तराई–मधेसको राजनीतिक प्रक्रिया अघि बढिरहन्छ," उनले भने।

निकटस्थका अनुसार गच्छदार सम्झौतासहित संविधान निर्माण र सरकारमा गएलगत्तै आन्दोलन गर्ने र तराई–मधेसमा आफ्नो पक्षमा माहोल बनाउने दाउमा यादव छन्। कांग्रेस र एमालेको बहुमत भएको अवस्थामा तराई–मधेसका क्षेत्रीय मुद्दा सम्बोधन हुन नसक्ने बुझेका यादव त्यसैको आडमा आन्दोलन गर्ने पक्षमा देखिए पनि गच्छदार भने सम्झौतासहितको संविधान बनाएर भए पनि मुलुकलाई निकास दिने पक्षमा देखिएका छन्।

आजका लागि भन्दा पनि भोलिको स्थान सुरक्षित गर्ने यादवको दाउ र आजै निकास दिने गच्छदारको सोचमा समानता हुन नसक्दा मोर्चाको बैठक बस्न सकेको छैन। मधेसी मोर्चाको बैठक बसे विभाजन हुन सक्ने खतरा पनि यथावतै छ जसमा गच्छदार र यादवकै व्यक्तित्व टकराव मुख्य कारण रहेको मोर्चाका नेताहरू बताउँछन्।

No comments:

Post a Comment