Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, April 13, 2015

जमानत जफत पछि आज केसीले भने- 'पैसाको बलमा हराइयो'

बाग्लुङ–१ को उप निर्वाचनमा एकीकृत नेकपा माओवादीका उम्मेदवार कृष्ण केसीको जमानत नै जफत भयो, त्यसपछि माओवादी भित्र र बाहिर दुवै ठाउँवाट टिका टिप्पणी, आलोचना र रक्षा भइरहेकोे छ । यसैक्रममा, स्वयं उम्मेदवार कृष्ण केसीले भने हिजो आएको मत परिणाम प्रति आफना धारणा सार्वजनिक गरेका छन् । संविधानसभा चुनाव लगत्तै माओवादीले प्रयोग गरेको भाषा र शैली प्रयोग गरी उनले आफनो फेसबुक पेजमा लेखेका छन्– "सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग हुनु, निर्वाचन आचार संहिताको उलंघन हुनु, आममतदाताहरुलाई अवान्छित प्रलोभनमा पारिनु, मतदाता खरीद–विक्रि गरिनु, त्यस क्रममा विभिन्न ठाउँहरुमा नाराबाजीहरु तथा एक–आपसमा झडपहरु समेत हुनु, सो बारे स्थानीय संचार माध्यममा स्विकारोक्ति आउनु र यी सबै कुरा छर्लङ्ग हुँदा हुँदै पनि निर्वाचन आयोग मौन बस्नु निन्दनीय र भत्सर्नायोग्य मात्र नभई लोकतन्त्र माथिकै प्रहार हो " चुनाव अघि कुनै त्यस्ता प्रतिक्रिया नजनाएका उम्मेदवारी केसीको चुनाव पछि आएको यस्ता कुराले कति अर्थ राख्छ वा राख्दैन, त्यो आफनै ठाउँमा बहस होला तर अहिले चाँही उनको भनाई जस्ताको तस्तै यहाँ राखिएको छ ।
प्रेस विज्ञप्ति
प्रथमतः म संविधान सभा सदस्य उपनिर्वाचन, बागलुङ्ग क्षेत्र नं. १ मा एकीकृत नेकपा (माओवादी)लाई मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै मलाई उमेद्वारको रुपमा खडा गरेकोमा पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दछु । संकटको घडीमा पार्टीको झण्डा उठाएर निर्वाचनको संग्राममा होमिन पाएकोमा गौरवान्वित छु । निर्वाचनमा हाम्रो पार्टीलाई विजयी बनाउने लक्ष्य लिएर निष्ठापूर्वक अनवरत रुपमा खट्नु हुने सम्पूर्ण पार्टी नेताहरु, कार्यकर्ताहरु, सदस्यहरु, मतदाता, समर्थक र शुभेच्छुकहरु तथा यस निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने निर्वाचन आयोग, स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल, अनुगमनकर्ताहरु, मानवअधिकारकर्मीहरु, आममतदाताहरु, स्वयंसेवकहरु, सुरक्षाकर्मीहरु, स्थानीय सञ्चार माध्यमहरु, पत्रकारहरु सहित सबै सरोकारवालाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
आवधिक निर्वाचनलाई संसदीय व्यवस्थामा जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर प्रकृयाको रुपमा व्याख्या गरिन्छ । स्वच्छ, स्वस्थ र निस्पक्ष निर्वाचन त्यसको आधारभूत शर्त हो । यो त झन संविधान सभाको निर्वाचन थियो । यस्तो ऐतिहासिक निर्बाचनमा राजनैतिक, बैचारिक र संविधान सभामा उठाउने मुद्दाहरुलाई गौण बनाई आमजनतामा निरासा र राजनीति प्रति नै वितृष्णा पैदा हुने गरी सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग हुनु, निर्वाचन आचार संहिताको उलंघन हुनु, आममतदाताहरुलाई अवान्छित प्रलोभनमा पारिनु, मतदाता खरीद–विक्रि गरिनु, त्यस क्रममा विभिन्न ठाउँहरुमा नाराबाजीहरु तथा एक–आपसमा झडपहरु समेत हुनु, सो बारे स्थानीय संचार माध्यममा स्विकारोक्ति आउनु र यी सबै कुरा छर्लङ्ग हुँदा हुँदै पनि निर्वाचन आयोग मौन बस्नु निन्दनीय र भत्सर्नायोग्य मात्र नभई लोकतन्त्र माथिकै प्रहार हो । विजयी हुनको लागि करोडौंको धनराशी खर्च गर्नुपर्ने र सो रकम उठाउन भ्रष्टाचार तथा अन्य विभिन्न अपराधमा संलग्न हुनु पर्ने र पराजित भएमा आर्थिक रुपमा जीवनभर कहिल्यै उठ्न नसक्ने गरी थला पर्नु पर्ने स्थिति पैदा भएको छ । यस प्रकारको निर्वाचनले जनताको वास्तविक अभिमतको प्रतिनिधित्व गर्न र गरीब, दुःखी जनताले निर्वाचनमा प्रतिनिधिको रुपमा प्रस्तुत हुन सक्ने स्थितिको कल्पना समेत गर्न सकिंदैन । यस प्रकारको चुनावी शैलीले वर्तमान संसदीय व्यवस्थाको धज्जी उडेको छ र यसको असफलता प्रस्ट भएको छ । यसबाट हाम्रो पार्टीले प्रस्ताव गरेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै सर्वोत्तम प्रणाली भएको सिद्ध भएको छ ।
यस निर्वाचनमा हामीले शालीन र गौरवशाली तरीकाले पार्टी र क्रान्तिको आदर्शलाई उँचो राख्ने गरी, निर्वाचन आचार संहिताको परिधिभित्र रहेर संविधान सभामा पार्टीले उठाएका र उठाउनु पर्ने जनताका मुद्दाहरु बोकेर जनताका बस्तीहरु र घर–दैलोमा पुग्दै निर्वाचन अभियान सम्पन्न ग¥यौं । मरणासन्न वर्तमान संसदीय व्यवस्थाको कुरुप प्रतिस्पर्धामा पार्टीले अप्रत्यासित परिणाम भोग्नु परेको छ । जनताले सबै कुराको निगरानी राखिरहेका छन् । तसर्थ यसका आन्तरिक र बाह्य कारणहरु खुल्दै जानेछन् । त्यसको बाबजुद पनि हामीले जनतासँग राखेका बिचारहरुमा प्रतिबद्ध हुँदै निरन्तर क्रियाशील रहने र जनताले दिएका सुझाबहरुलाई ग्रहण गर्दै क्रान्ति र पार्टीप्रति निष्ठावान रहँदै अविछिन्न रुपमा क्रान्ति, पार्टी र जनताको सेवामा लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु । आम पार्टी पंक्ति, कार्यकर्ताहरु, सदस्यहरु, समर्थकहरु, मतदाताहरु र शुभेच्छुकहरुलाई निराश नभई अविचलित रुपमा अगाडि बढ्नको लागि हार्दिक अनुरोध गर्दछु । क्रान्तिको बाटो घुमाउरो, लामो र कठीन छ । तर अन्तिम विजय जनताकै हुनेछ । 
क्रान्तिकारी अभिवादन सहित ।
कृष्ण बहादुर केसी
उमेद्वार
एकीकृत नेकपा माओवादी
बागलुङ्ग क्षेत्र नं.- १

(यो प्रेस बिज्ञप्ति उनको फेसबुक पेजवाट साभार गरिएको हो) 


 संवन्धित थप सामग्रीहरु :
१)  बाग्लुङ–१: प्रचण्ड पुत्र प्रकाश र दीनानाथ बिच फेसबुक जुहारी (यहाँ क्लिक गर्नुहोस )
२)  बाग्लुङ–१ मा जमानत जफत भए पछि माओवादीहरुका भनाई (यहाँ क्लिक गनुूहोस )

No comments:

Post a Comment