Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 6, 2012

कार्यक्षेत्र बाहिर डेरा लिने नेतालाई कारबाही हुने

प्रकाश तिमल्सिना, काठमाडौं, भदौ १८- नेकपा-माओवादीले कार्यक्षेत्रभन्दा बाहिर डेरा लिएर बस्ने केन्द्रीय सदस्यलाई कारबाही गर्ने भएको छ। जारी केन्द्रिय समितिको बैठकमा अनुशासन आयोगले पेस गरेको १६ बुँदे आचारसंहिता पास हुनेबित्तिकै कारबाही अघि बढाउने माओवादीले जनाएको छ।


'नेताहरूलाई अनुशासनमा राख्नका लागि एकीकृत पार्टीमा रहँदा नै तयार पारिएको आचारसंहिता परिमार्जन गरेर ल्याएका हौं,' नेकपा-माओवादीका प्रवक्ता पम्फा भुसालले भनिन्, 'केन्द्रीय समिति बैठकमा यसबारे छलफल भइरहेको छ।'
नेता र कार्यकर्तालाई आर्थिक अनियमितता र बदनामीबाट जोगाउन आचारसंहिता लागू गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। आचारसंहिता लागू भएपछि केन्द्रीय नेताहरूले आफ्नो सम्पत्तिको विवरण पार्टीमा बुझाउनुका साथै हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ।
'पूर्णकालीन नेताका छोराछोरीको पढाइ खर्च पार्टीले व्यहोर्नेछ, तर उनीहरूले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्छ,' एक नेताले भने। उनका अनुसार पार्टीले शिक्षामा निजीकरणको विरोध गरेकाले त्यसको कार्यान्वयन गर्न उक्त नीति ल्याइएको हो।
आफूलाई पायक पर्नेभन्दा पनि पार्टीले खटाएको क्षेत्रमा केन्द्रीय सदस्य जानुपर्ने नियम माओवादीले बनाएको छ। 'एनजिओ र आइएनजीओको कार्यक्रममा सहभागी नहुने र हुनैपर्ने अवस्था आए पार्टीको पूर्वअनुमति लिनुपर्ने नियम छ,' ती सदस्यले नागरिकसँग भने।
प्रत्येक राज्य समिति कार्यालयमा एक-एक सवारी साधन व्यवस्था पार्टीले गर्नेछ। स्थायी समिति सदस्यलाई एउटा गाडी, सवारी चालक र दुई सहयोगी व्यवस्था गरिने भएको छ। पोलिटब्युरो सदस्यले भने एकमात्र सहयोगी राख्न पाउनेछन्। 'खर्च कम गर्ने र हरेक वर्ष खर्च विवरण पेस गर्नुपर्ने नियम छ,' अर्का सदस्यले भने।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्नो विचार राखिसकेका छन्। 'सोमबार अध्यक्षले सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ, बैठकमा परिमार्जित राजनीतिक प्रतिवेदन पेस हुनेछ,' भुसालले भनिन्।

No comments:

Post a Comment