काठमाडौं- भूकम्पपछि उद्धार र राहतनिम्ति तदारुकता नदेखाएको आरोप खेपेका राजनीतिक दलका शीर्ष नेताहरू राहत सामग्री लिएर प्रभावित क्षेत्र पुग्न थालेका छन्।
एकीकृत माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार छ ट्रक खाद्यान्न गोरखा सदरमुकाम पुर्यानएर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्। 'आफ्नो र पार्टीका तर्फबाट संकलित राहत सामग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत पठाइरहेको छु,' भट्टराईले नागरिकसँग भने, 'प्रकृतिले कुनै दल वा विचार नभनी समान ढंगले विनाश गर्योह भने हामीले राहत वितरणमा दल/गुटगत आग्रह किन राख्ने?'
सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति सुशील कोइराला सरकारी संयन्त्र परिचालन गर्ने तथा दातृ राष्ट्रसँग समन्वय गरिरहेका छन्। पार्टी अनुगमन समितिमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार गोकर्ण पुगेका थिए। त्यहाँ उनले खाद्य संस्थान, विमानस्थल, नेपाली सेनाको राहत र उद्धारका बारेमा जानकारी लिइरहेको उनका स्वकीय सचिव भानु देउवाले बताए।एकीकृत माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार छ ट्रक खाद्यान्न गोरखा सदरमुकाम पुर्यानएर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्। 'आफ्नो र पार्टीका तर्फबाट संकलित राहत सामग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत पठाइरहेको छु,' भट्टराईले नागरिकसँग भने, 'प्रकृतिले कुनै दल वा विचार नभनी समान ढंगले विनाश गर्योह भने हामीले राहत वितरणमा दल/गुटगत आग्रह किन राख्ने?'
उपसभापति रामचन्द्र पौडेल तनहुँ, लमजुङ र गोरखामा भएको क्षति अध्ययन तथा राहत वितरणको अवस्था बु‰न आइतबार त्यता हिँडेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। महामन्त्री कृष्ण सिटौला पनि सरकारलाई सहयोग तथा राहत संकलनमा जुटिरहेका छन्।
उता, नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्ना नेतालाई प्रकोप क्षेत्रमा खटाएका छन्। एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग समन्वय मात्र गरिरहेका छैनन्, नाङ्लेभारे, साँखु, गोंगबुमा स्थलगत निरीक्षण पनि भ्याएका छन्।
'केही राहत सामग्रीसहित उहाँ (नेपाल) पीडितलाई भेटिरहनुभएको छ,' नेपालनिकट विष्णु रिजालले नागरिकसँग भने।
सरकारसँग समन्वय गरिरहेका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार राहतसहित ललितपुरको सिद्धिपुर तथा आइतबार गोंगबु क्षेत्र पुगेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। महासचिव ईश्वर पोखरेल पनि भूकम्प प्रभावित क्षेत्रमै छन्।
'राहत संकलन गरेर विभिन्न जिल्लामा पठाउने र मृतकका परिवारलाई भेटघाट गर्ने काम गरिरहेको छु,' अर्की उपाध्यक्ष विद्या भण्डारीले नागरिकसँग भनिन्।
सिन्धुपाल्चोक बोडगाउँमा राहतसहित आइतबार पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यसअघि कीर्तिपुर, हरिसिद्धिलगायत ठाउँमा गएका थिए। आफ्ना १६ नेतालाई लिखित रूपमै जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटाइसकेका दाहालले जनवर्गीय संगठनहरूलाई खोज/उद्धारसहित राहत संकलन र वितरणमा खटाएका छन्। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि आइतबार गोरखा, जौबारी पुगेका छन्।
त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापा सिन्धुपाल्चोक पुगी राहत वितरण गरेर फर्केका छन्। उनी शनिबार गृहजिल्ला मकवानपुर पुगेका थिए। सरकारसँग समन्वय गरिरहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आइतबारसम्म कतै पुगेका छैनन्। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने शनिबार राहतसहित भक्तपुर पुगेका थिए। 'अझै ७–८ ट्रक बाँड्ने योजनामा छौं, त्यो केही दिनमै यता (पहाडी इलाका) आइपुग्छ,' यादवले भने।
सोही पार्टीकी नेतृ रेणु यादव पनि शनिबार राहत बोकेर भक्तपुर पुगेकी थिइन्। नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले गृहजिल्ला भक्तपुरमा राहत वितरण गरेका छन्।
तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार संकलित राहत सामग्री पठाउने बन्दोबस्तीमा व्यस्त भए। सोही पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी गोरखा पुगेर आएका छन्। 'धेरैतिर पाल र त्रिपालको आवश्यकता छ, लखनउबाट पाल मगाउने कोसिस गरिरहेको छु,' त्रिपाठीले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा राहत सामग्रीसहित शुक्रबारदेखि सिन्धुपाल्चोकमा व्यस्त छन्। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल राहत सामग्रीसहित गोरखाको बुङकोट, बोर्लाङ, फुजेल, धावा, आरुपोखरी लगायत स्थानमा पुगिसकेका छन्।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी ललितपुरका खोकना, बुंगमती, डुकुछापमा राहत बाँडेर थप सामग्री लिन तराई झरेका छन्। भूकम्पमा परी घाइते भएका कारण सद्भावना अध्यक्ष राजेन्द्र महतो घरमै आराम गरिरहेका छन। 'म बिरामी भए पनि मेरो पार्टी राहत संकलनमा खटिएको छ,' महतोले भने।

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राहत सामग्री बोकेर आफैं नगए पनि काठमाडौं आसपासका प्रभावित क्षेत्र निरीक्षण गरेको बताए। 'पार्टी राहत संकलन र वितरणमा खटिएको छ,' उनले भने।
नेकपा मालेका महासचिव सिपी मैनालीले राहत सामग्री संकलन भइरहेकाले केही दिनमा प्रभावित क्षेत्रमा जाने बताए। राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौंका केही स्थान र पाटन तथा हरिसिद्धि पुगेर निरीक्षण गरेका छन्। 'उनीहरूलाई दिने मसँग केही थिएन, छैन। सान्त्वना दिएर फर्केँ,' केसीले नागरिकसँग भने।
नेपाल सद्भावा पार्टीका अध्यक्ष अनिलकुमार झा, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मीणी चौधरी र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष शिवलाल थापाले पनि भूकम्प प्रभावित क्षेत्र निरीक्षण गरेका छन्। उनीहरूले राहत नै चाहिँ नबाँडेको र केही गर्ने सोचमा रहेको बताए।
सिन्धुपाल्चोकका सभासद अग्निप्रसाद सापकोटा राहत सामग्री लिएर जाँदा एक रात भूकम्पपीडितको नियन्त्रणमा परे।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय आइतबार राहत लिएर मकवानपुरको सबैभन्दा प्रभावित गाउँ आग्राह, पालुङसहितका गाउँ पुगेकी छन्। भूकम्पमा आमा गुमाएका एमाले बागमती संयोजक अरुण नेपाल काजकिरिया पाँच दिनमै सकेर राहत वितरणमा सक्रिय छन्।
संविधानसभाका ६ सय १ सभासदले नै प्रधानमन्त्री राहत कोषमा एक महिना बराबरको तलबभत्ता भूकम्पपीडितलाई दिने निर्णय गरिसकेका छन्। त्यस्तै, एमाओवादीले वैशाख १४ गते ३० लाख, एमालेले वैशाख १६ मा ५० लाख, कांग्रेसले वैशाख १८ गते १ करोड र मोहन वैद्य नेतृत्व नेकपा–माओवादीले शनिबार १० लाख र नेकपा मालेले ५ लाख प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकांश दलले नेता तथा कार्यकर्तालाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा क्रियाशील हुन आह्वान गरिसकेका छन्।
No comments:
Post a Comment