Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 18, 2015

'एमाओवादी पार्टीको अगाडि जाने कुनै स्पष्ट गन्तव्य देखिँदैन'

तपाईंसहित एमाओवादीमा रहेका पूर्वएमाले सबै पूरानो पार्टी फर्कने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ, खास के हो ?

हामी एमालेमा फर्कने भनेर गरिएको प्रचार एउटा अफवाह मात्रै हो । केही साथीहरुको एमालेमै फर्कनुपर्छ भन्ने विचार आएको छ । तर, हामी तत्काल फर्कने सोचमा छैनौं ।

त्यसो भए पूर्वएमालेहरुको छुट्टै भेला किन गर्नुभयो त ?
मैले भेला आयोजना गरेको छैन । विभिन्न चरणमा साथीहरुसँग छलफल चाहिं भएको कुरा सत्य हो । जहाँसम्म भेलाको कुरा छ, त्यो मैले बेलाएको होइन । मलाई कसैले भेलामा बोलाएको पनि थिएन । भेलापछि साथीहरुले टेलिफोनमा त्यसबारे जानकारी गराउनु भएको थियो ।
भेलाले के निर्णय गरेछ, त्यो त थाहा पाउनुभयो नि ?
केही साथीहरु एमाओवादीमा आएको केही समयमै असन्तुष्ट हुनुभयो । उहाँहरुको भनाइ छ कि एमाओवादीमा बस्न हाम्रा लागि सम्मानजनक अवस्था रहेन । जिम्मेवारी दिइएन । त्यसको अर्थ एमालेमै फर्कन खोजेको भन्ने होइन । विभिन्न विकल्पहरुका बारेमा छलफल जारी छ ।
विकल्प भन्नाले के के ?
केही साथीहरु एमाओवादीमै बसेर सम्मानजनक रुपमा काम गर्ने वातावरणका लागि संघर्ष गरौं भन्ने पक्षमा हुनुहुन्छ । कोही एमालेमै फर्कन उचित हुन्छ भन्नेहरु पनि हुनुहुन्छ । कसैको अशोक राई वा उपेन्द्र यादवको पार्टीमा जानु ठीक हुने राय छ । एमाओवादीमा पनि नबस्सौं, अन्त पनि नजाऔं बरु नयाँ पार्टी खोलौं भन्ने मत पनि छ । यी सबै विषयमा छलफल चलिरहेको छ ।
माओवादीमा केही लिनका लागि जानुभएको थियो, केही नपाएपछि असन्तुष्ट हुनुभएको कि नीतिगत वा वैचारिक कारणले ?
हामी केही लिनका लागि होइन, दिनका लागि एमाओवादीमा गएका थियौं । लिनका लागि एमालेमै हाम्रा लागि धेरै अवसर हुनसक्थ्यो । तर एमालेमा बस्न सकिएन । राजनीतिक, आर्थिक र सामाजिक मुद्धाहरु सही ठानेर हामी एमाओवादीमा गएका हौं । एमाओवादी आफैंमा द्विविधाग्रस्त अवस्थामा छ । अबको बाटो के हो भन्नेबारेमा स्पष्ट खाका नै छैन । कहिले माओवादी धारका दलहरुबीच एकताको कुरा हुन्छ । कहिले बाबुरामजी यो पार्टीबाट पार लाग्दैन, अब नयाँ शक्ति चाहिन्छ भन्दै हिंड्नुहुन्छ । हामी त पछि गएको के भन्नु र ? यस्ता उतारचढावहरुका कारणले गर्दा हामी पनि ‘कन्फ्युजन’ मा परेका छौं । माओवादी पार्टीको अगाडि जाने कुनै स्पष्ट गन्तव्य देखिँदैन ।

माओवादी धारका दलहरुबीच अघि बढेको एकता प्रक्रियाप्रति तपाईंको असन्तुष्टि हो ?

पार्टीभित्रै भएकालाई जिम्मेवारी नदिने, अनि एकताको कुरा गरेर मान्छे थुपारेर मात्र के गर्ने ? हामी जति पनि एमालेबाट एमाओवादीमा आएको छौं । कसैले पनि माओवाद स्विकार गरेर आएका होइनौं । हामी माओवादमा होइन, समावेशी लोकतन्त्रमा विश्वास गर्छौं । समावेशी लोकतन्त्र मानेरै एमाओवादीमा आएका हौं ।

तपाईंले आफू होइन, साथीहरु असन्तुष्ट हुनुहुन्छ भन्नुभयो, तपाईंको कुरा चाहिं एमाओवादी छाड्नुपर्छ भन्ने वा बसेरै सुधार्नुपर्छ भन्ने के हो ?
छलफलकै क्रममा छौं । एक दुई साता छलफल चल्छ । त्यसपछि केही निष्कर्ष निस्कन्छ । तर छलफमला म धेरै संलग्न छैन । साथीहरुले छलफलमा उठेका विषयबारे जानकारी गराउनुभएको छ । उहाँहरुको पीडाप्रति मेरो पनि चिन्ता छ । मलाई पनि त्यहाँ बस्न अप्ठेरो भइरहेको छ । एकपटक म प्रचण्डजीसँग कुरा गर्छु । आक्रोशित र असन्तुष्ट भएर मानिसहरु बाहिर गए पनि उहाँहरुकै लागि प्रतित्युत्पादक हुन्छ भनेर सम्झाउँछु । चिन्तित भएका साथीहरुलाई भनेको छु, अँध्यारो कोठामा बसेर होइन, खुला ढंगले छलफल गर्ने हो ।
असन्तुष्टिकै कारण एमाले छाड्नु भो, अहिले एमाओवादी पनि त्यही कारण छाड्ने कुरा गर्दै हुनुहुन्छ ?
हामीले सिद्धान्तमा ठूलै मतभेद भएर एमाले छाडेको होइन । पार्टीले तस्कर र माफियालाई प्रश्रय दियो । पार्टीका लागि रगत र पसिना बगाएकाहरुमाथि राम्रो व्यवहार नगरेका काण यता आयौं । यता पनि सम्मानजनक व्यवहार भएन ।
प्रचण्डलाई भेटेर के भन्नुहुन्छ ?
अध्यक्षसँग एकपटक निर्णयक कुरा गर्छु । हाम्रो असन्तुष्टिबारे उहाँले के सोच्नुभएको छ, थाहा छैन । मुल कुरा मेरो मधेसवादी दलहरुसँगको सहकार्यका बारेमा गम्भीर असहमति छ । किनकी उनीहरु राष्ट्रिय एकता र अखण्डताप्रति प्रष्ट छैनन् । उनीहरुले रिस उठेका बेला मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने गरेका छन् । उनीहरुले साम्प्रदायिक घृणा फैलाउने गरेका छन् । तराईमा बस्ने ३० प्रतिशत पहाडीहरुको विश्वास नजिती कसरी कम्युनिष्ट पार्टी टिकाउने ? उनीहरुको विश्वास आर्जन गर्नुपर्नेमा मधेसीसँग घनिष्ठ छन् ।

सुशासनका विषयमा उनीहरु प्रष्ट छैनन् । मधेस केन्द्रित दलका उपेन्द्र यादवमध्ये अधिकांश नेता भ्रष्टाचारमा मुछिएका छन् । यो बारेमा पनि प्रचण्डसँग कुरा गर्छु । उहाँले कसरी आश्वस्त तुल्याउन सक्नुहुन्छ, कसरी अगाडि जाने भन्ने कुरा त्यसैमा चर पर्छ । यो कुनै उत्तेजनाको विषय होइन ।

काठमाडौं टुडे डटकमवाट

No comments:

Post a Comment