Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 6, 2013

बैद्य बा बिद्रोह तिर, बादलको गर्जन निर्वाचनतिर

प्रकाश तिमल्सिना, काठमाडौं, चैत २४- एकीकृत माओवादीबाट अलग्गिएको वर्षदिन नपुग्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीभित्र दुई लाइन संघर्ष सुरु भएको छ। आगामी संविधानसभा निर्वाचनमा सहभागी हुने/नहुने विषयमा सहमति हुन नसकेपछि माओवादीले सोबारे निर्क्यौल गर्न चैत २७ गते केन्द्रिय समिति बैठक आह्वान गरेको छ।

अध्यक्ष वैद्यसहित बहुमत पदाधिकारी 'जनबिद्रोह' पक्षमा र महासचिव रामबहादुर थापालगायत केही केन्द्रीय सदस्यले चुनावमा जानुपर्ने भन्दै जिल्ला कमिटिसम्म लबिङ सुरु गरेपछि संघर्ष सतहमा आएको हो।
'निवार्चनमा सहभागी हुनुपर्छ भनेर बादल (थापा)जी तलसम्मै (जिल्ला तहसम्म) ग्राउन्ड बनाउँदै हिँडनुभएको कार्यकर्ताले हामीलाई सुनाउन थालेका छन्,' केन्द्रीय सदस्य महेन्द्र पासवानले नागरिकसँग भने, 'पार्टीले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ तर उहाँको आशय सहभागी हुने देखिन थालेको छ।'

पछिल्लो केही समययता तराई-मधेस भ्रमणका क्रममा महासचिव थापाले निर्वाचनको पक्षमा लबिङ सुरु गरेका रिपोर्ट प्राप्त भइरहेको उनले बताए। स्रोतका अनुसार पोलिटब्युरो सदस्य हितमान शाक्य, प्रवक्ता पम्फा भुषाल, केन्द्रीय सदस्य कृष्णदेवसिंह दनुवार, महेश्वर दाहाल, चन्द्रहरि सुवेदी, राम आचार्यलगायत नेता थापा पक्षमा छन्। महाधिवेशनले पास गरेको 'विद्रोह' लाइनमा वैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, सचिव नेत्रबिक्रम चन्दलगायत बहुमत केन्द्रीय सदस्य अडिग छन्। अर्का सचिव देव गुरुङ र पोलिटब्युरो सदस्य हरिभक्त कँडेललगायत नेता तटस्थ भएको स्रोतले बतायो।
'महाधिवेशनले जे पास गरेको थियो, त्यही अनुसार जानुपर्छ भन्नेमा किरण (वैद्य)जीसहित बहुमत केन्द्रीय सदस्य अडिग छन, तर हामी त्योभन्दा अलि फरक छौंे,' थापा निकट एक केन्द्रीय सदस्यले नागरिकसँग भने, 'बदलिँदो राजनीतिक परिस्थिति र विश्वव्यापीकरणका कारण पनि संविधानसभा निर्वाचनलाई निषेध गरेर होइन, उपयोग गरेर जानुपर्छ भन्नेमा हामी छौं।' उनका अनुसार व्यवस्थापिका संसद निर्वाचन बहिस्कार गर्दा फरक नपर्ने तर संविधानसभा बहिस्कार गर्दा जनतामा गलत सन्देश जाने भएकाले त्यसलाई पार्टीले उपयोग गर्न जरुरी छ।
संविधानसभा निर्वाचन बहिस्कार गर्दा संविधान निर्माणविरोधीको छाप बस्ने र महाधिवेशनको 'जनविद्रोह' म्यान्डेटबिपरीत निर्वाचनमा सहभागी हुदाँ पार्टी बिभाजनको औचित्य पुष्टि नहुने भएकाले माओवादी यतिखेर राजनीतिक संकटबाट गुजि्ररहेको छ। सो संकट हल गर्न महासचिव थापाले बिस्तारित बैठकको माग पनि राखेका छन्।
महाधिवेशनले बिद्रोहको म्यान्डेट दिएकाले निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा अझै वैद्य पक्ष देखिन्छ। 'सातौं महाधिवेशनले निर्वाचन होइन, बिद्रोहको म्यान्डेट दिएको हो, त्यसलाई लत्याएर जान सकिदैन्,' वैद्य निकट एक केन्द्रीय सदस्यले भने, 'बिद्रोह नगर्ने र चुनावमै जाने भए किन पार्टी विभाजन गर्नु पर्थ्यो?' दोस्रो संविधानसभा निर्वाचनले पनि जनतालाई अधिकारसम्पन्न गराउन नसक्ने दाबी गर्दै बिद्रोह अनिवार्य भएको वैद्य पक्षको तर्क छ।
निर्वाचन सहभागिताबारे मुलुक नै ध्रुवीकरण भइरहेको बेला स्वाभाविक रुपमा त्यसको असर पार्टीमा पर्ने अर्का केन्द्रीय सदस्य भरत बमले बताए। 'निर्वाचनको विषयमा सिंगो मुलुक ध्रुवीकृत भइरहेको बेला त्यसको स्वाभाविक असर हाम्रो पार्टीमा पनि परेको छ,' बमले भने।
सचिव नेत्रविक्रम चन्दले पार्टीभित्र चुनावका विषयमा फरक बुझाइ देखापरे पनि हाल सो समस्या समाधान भइसकेको जिकिर गरे। 'आजको पदाधिकारी बैठकले पनि केन्द्रीय समितिको निर्णय सही नै छ भन्ने निर्क्यौल गरेको छ,' चन्दले नागरिकसँग भने, 'निर्वाचनको विवाद पार्टीभित्र अब छैन, पार्टी एक ढिक्का भएर अघि जानेछ।'
तर, थापा पक्षीय केन्द्रीय सदस्य कृष्णदेवसिंह दनुवारले भने बदलिँदो राजनीतिक परिस्थिति र निर्वाचनको विषयलाई पार्टीले केन्द्रिय समितिमा गम्भीर छलफल गर्ने बताए।

No comments:

Post a Comment